काठमाडौं । वाइल्ड कार्डबाट टोकियो ओलम्पिक सहभागिता जनाउने मौका पाएकी पाराल्याम्पिककी पलेशा गोवद्धर्नले आजबाट अभ्यास थालेकी छन् ।
सातदोबाटो स्थित तेक्वान्दो हलमा पलेशाले भौतिक रुपमा उपस्थित भइ अभ्यास थालेकी हुन् । उनलाई प्रशिक्षक नेगी लामाले अभ्यास दिन थालेका छन् । कोरोना महामारीले घरेलु वातावरणमा खुम्चिएकी पलेशाले ओलम्पिक इतिहासमा पहिलो पटक समावेश गरिएको पाराल्याम्पिक प्रतिष्पर्धामा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडी हुन् । वाइल्ड कार्डबाट मौका पाएकी पलेशाले ओलम्पिकमा राम्रो गर्न निकै मिहिनेत गरेको भन्दै ओलम्पिक सहभागिता उपलब्धिमुलक बनाउने प्रतिबद्धता ब्यक्त गरिन् ।
५८ के.जी मुनिको स्पर्धाका लागि वाइल्ड कार्डमार्फत छनोट भएकी पलेशा विश्व तेक्वान्दो महासंघको १३ औं वरियतामा रहेकी छिन् । अन्तर्राष्ट्रिय पाराल्याम्पिक कमिटीबाट नेपालका लागि एउटा मात्र कोटा दिने व्यवस्था भए अनुसार पलेशालाई वाइल्ड कार्ड मिलेको हो । मौका पाएकी पलेशालाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराउन नेपाल तेक्वान्दो संघले पहल गरिरहको बताएको छ । पलेशालाई बिहान र बेलुका गरी दुई समयमा अभ्यास गराउने योजना रहेको र बाँकी सेवा सुविधाका लागि संघले प्रवन्ध गर्ने प्रशिक्षक नेगी लामाले जानकारी दिए ।
ओलम्पिकका लागि एशियाली क्षेत्रको छनोट प्रतियोगिता जोर्डनको सम्मान शहरमा गत जेष्ठ ७ गते देखि २३ गते सञ्चालन भएको थियो । तर, कोरोना महामारी, निषेधाज्ञा, अन्तर्राष्ट्रिय हवाई सेवा अवरूद्ध र जोर्डनमा क्वारेन्टिन बस्नुपर्ने नियमका कारण नेपाली खेलाडीको छनोट सम्भावना टरेको थियो ।
त्यसपछि नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन ५८ के.जी र रञ्जना धामी ४९ के.जीको वाइल्ड कार्डका लागि विश्व तेक्वान्दो महासंघमा पहल गरेको थियो । सोही पहलबाट नेपाली खेलाडी पलेशाले मौका पाएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया