काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत सोमवार बिहान भएको खेलमा पेरूले कोलम्बियालाई २-१ गोलले पराजित गरेको छ।
ब्राजिलको ‘गोइयानिया’मा भएको खेलमा पेरुले शुरुवाती २० मिनेटमै अग्रता लिएको थियो। खेलको १७औं मिनेटमा सर्जियो पिनाले गोल गर्दा पेरूले खेलमा अग्रता लिएको हो।
पहिलो हाफ १-० ले आफ्नो पक्षमा पारेको पेरूले दोस्रो हाफमा गोल खायो। कोलम्बियाका मिगेल बोर्जाले पेनाल्टी गोल मार्फत कोलम्बियालाई बराबरीमा लिएर आए। तर खेलको ६४औं मिनेटमा कोलम्बिया तथा इंग्लिश क्लब एभर्टनका डिफेन्डर येरी मिनाले आत्मघाती गोल गर्न पुग्दा परुले खेलमा पुनः अग्रता लिन सफल भयो। खेलमा अरु कुनै गोल हुन नसक्दा मिनाको आत्मघाती गोल नै निर्णायक बन्न पुगेको हो।
त्यस्तै सोमवार नै भएको पहिलो खेलमा भेनेजुएला र इक्वेडरले २-२ गोलको बराबरी खेल खेलेका छन्। उत्तरी समूह अन्तर्गतको यस खेलमा भेनेजुएलाले दुवै पटक पुनरागमन गोल गर्न सफल भएको हो। इक्वेडरका लागि एडुवार प्रेसियाडो र गोन्जालो प्लाटाले गोल गर्दा भेनेजुएलाका एडसन क्यास्टीलो र रोनाल्ड हरनान्डेजले गोल गरेका हुन्।
सोमवार विहान यी दुई खेलको समापनसँगै अंक तालिकामा पेरूले आफ्नो खाता खोलेको छ। कोलम्बियाविरुद्ध ३ अंक प्राप्त गरेको पेरू २ खेलमा ३ अंक सहित तेस्रो स्थानमा रहेको छ भने ३ खेलमा ४ अंक रहेको कोलम्बिया दोस्रो स्थानमा छ।
त्यस्तै ३ खेलमा २ अंक सहित भेनेजुएला चौथो स्थानमा छ भने २ खेलमा मात्र १ अंक सहित इक्वेडर अंक तालिकाको पुछारमा रहेको छ। उत्तरी समूहमा २ खेलमा २ जित निकालेको ब्राजिल शीर्ष स्थानमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया