विपदमा राजनीतिभन्दा ठूलो जनता हुन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को समयमा जनताको जीउ धन भन्दा ठूलो अरु नहुने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विपदमा राजनीति भन्दा ठूलो जनता हुने बताएका हुन् ।

बाढिपहिरोमा परेका जनताको उद्धार र उनीहरुको व्यवस्थापनसँगै क्षति न्यूनिकरण पहिलो प्रथामिकतामा राखेर काम गर्नु पर्ने उनको भनाइ थियो । उनले भने, “विपदमा राजनीतिलाई दोस्रो प्रथामिकतामा राखेर काम गर्नु पर्छ ।” अहिले राजनैतिक समस्या भए पनि त्यो समाधानका लागि विभिन्न तरीकाले लागि परेको बताउँदै उनले यो सबै दोस्रो प्राथामिकता भएको बताए ।

नारायणी नदीले पारेको प्रभावको विषयमा बुझ्न यहाँ आएका प्रचण्डले नारायणी नदीको जोखिम अझै कायम रहेको र यसलाई समयमानै व्यवस्थापन गर्न नसकिए ठूलो क्षति हुने बताए । नियन्त्रणको काम भइरहेको समयमा बाढी आएर काम अधुरै छोड्दा जनतामा त्रास वढेको उनको भनाई थियो । अहिलेको व्यवस्थापन कम्जोर भएको भन्दै उनले नारायणी नदीको फाईदा र जोखिमको आँकलन गर्दै काम अघि वढाउनु पर्ने जानकारी दिए ।

नदी व्यवस्थापनका लागि निकुञ्ज ऐन तथा नीति संशोधन आवश्यक रहेको उनले बताए । उनले भने, “निकुञ्जको नीतिसँग सम्बन्धित नीतिहरु हिजोको आवश्यकतालाई मध्यनजर गरेर वनाईएका हुन । ती नीति, ऐनहरु वदलिएको परिस्थितिलाई हेरेर परिवर्तन आवश्यक छ ।”

फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकारले चितवनलाई वेवास्ता गरेको गुनासो गरे । उनले भने, “चितवनको विकास भयो भने प्रचण्डले जस पाउँछ भन्ने सरकारलाई लागेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?