काठमाडौं । विश्व टेस्ट च्याम्पियनशिप फाइनलको दोस्रो इनिङमा भारतले न्युजिल्यान्डविरुद्ध ३२ रनको अग्रता लिएको छ।
टेस्ट च्याम्पियनशिप फाइनल खेलमा पाँचौं दिनको खेल सकिँदा भारतले दोस्रो इनिङको शुरुवात गरेको छ। वर्षाले निकै नै प्रभावित फाइनल खेलमा २ दिन खेल हुन सकेको थिएन। सो कारण ‘आईसीसी’ले फाइनल खेलको लागि ‘रिजर्भ डे’को प्रयोग गरेको छ।
‘रिजर्भ डे’ अन्तर्गत आज छैटौं दिन पनि खेलले निरन्तरता पाउने छ। पाँचौं दिनको खेलमा भारतले न्युजिल्यान्डलाई पहिलो इनिङमा २४९ रनमा ‘अल आउट’ गर्न सफल भएको थियो।
भारतका तिब्र गतिका बलर मोहम्मद शमीले व्यक्तिगत ४ विकेट लिंदा न्युजिल्यान्डले पहिलो इनिङमा मात्र ३२ रनको अग्रता लिन सफल भयो। २ विकेटको क्षतिमा १०१ रनबाट पाँचौं दिनको शुरुआत गरेको किवीको टोलीले पाँचौं दिनमा सबै विकेट गुमाएर मात्र ३२ रनको अग्रता लिन सफल भएको हो।
जवाफी दोस्रो इनिङ ब्याटिङमा भारतले ६४ रनको योगफल तयार गर्दा २ विकेट गुमाएको छ। न्युजिल्यान्डका तिब्र गतिका बलर टिम साउदीले भारतका दुवै ओपनर ब्याट्सम्यान रोहित शर्मा र शुवमन गिललाई पविलियन फर्काएका छन्।
भारतको ब्याटिङमा अहिले कप्तान विराट कोहली र चेतेश्वर पुजारा क्रिजमा छन्। कप्तान कोहली ८ रनमा अविजित छन् भने पूजारा १२ रनमा अविजित रहेका छन्।
‘रिजर्भ डे’को खेलमा तीन सेसनको खेल हुनेछ। साउथह्याम्पटनमा बुधवार राम्रो मौसमको अनुमान गरिएको छ। जसको कारण यदि छैटौं दिनमा वर्षाको कुनै बाधा नआएको खण्डमा खेलमा विजेता टोली देखिने सम्भावना बढेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया