काठमाडौं । न्युजिल्यान्डले ‘विश्व टेस्ट च्याम्पियनशिप’को उपाधि जितेको छ।
इङ्ल्यान्डको साउथह्याम्पटनस्थित ‘दि रोज बल’मा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक आयोजित टेस्ट च्याम्पियनशिपको उपाधि उचालेको हो। वर्षाले निकै नै प्रभावित फाइनल खेलमा २ दिनको खेल हुन नसक्दा खेल ‘रिजर्भ डे’मा लागिएको थियो।
सो ‘रिजर्भ डे’ अन्तर्गत न्युजिल्यान्डले बुधवार उत्कृष्ट ब्याटिङ तथा बलिङ को प्रदर्शनी देखायो। पाँचौं दिनको खेल सकिँदा २ विकेट गुमाएर ३२ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङमा केवल १७० रन बनाएर ‘अलआउट’ हुन पुग्यो।
भारतलाई सस्तोमै समेट्न न्युजिल्यान्डका बलर टिम साउदीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए। त्यस्तै काईल जेमिसनले भारतका कप्तान विराट कोहली र चेतेस्वर पुजारालाई पविलियन फर्काएका थिए।
१३९ रनको सामान्य लक्ष्य लिएर दोस्रो इनिङ्को ब्याटिङमा उत्रेको न्युजिल्यान्डले ४५.५ ओभरमा मात्र दुई विकेट गुमाएर लक्ष्य प्राप्त गर्न सफल भयो। किविजको जितमा कप्तान केन विलियमसनले अविजित ५२ रनको पारी खेले भने भेट्रान ब्याट्सम्यान रस टेलरले अविजित ४७ रन बनाए।
फाइनल खेलमा ४६ ओभर गरेर ७ विकेट लिन सफल भएका काईल जेमिसन खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।
टेस्ट च्याम्पियनशिप फाइनलको हरेक दिन
दिन १: वर्षाका कारण खेल स्थगित
दिन २: भारत १४६-३ (पहिलो इनिङ)
दिन ३: भारत २१७ (पहिलो इनिङ)
न्युजिल्यान्ड १०१-२ (पहिलो इनिङ)
दिन ४: वर्षाका कारण खेल स्थगित
दिन ५: न्युजिल्यान्ड २४९ (पहिलो इनिङ)
भारत ६४-२ (दोस्रो इनिङ)
रिजर्भ डे: भारत १७० (दोस्रो इनिङ)
न्युजिल्यान्ड १४०-२ दोस्रो इनिङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया