कोपा अमेरिका २०२१ : कोलम्बिया माथि ब्राजिलको शानदार कमब्याक

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत बिहीवार बिहान सम्पन्न खेलमा साविक विजेता ब्राजिलले कोलम्बियालाई २-१ गोलले पराजित गरेको छ।

ब्राजिलको ‘रियो डे जेनेरो’मा भएको उत्तरी समूहको खेलमा कोलम्बियाले अग्रता लिएको थियो। पहिलो हाफको १०औं मिनेटमा कोलम्बियाका स्टार खेलाडी जुवान क्वाडराडोको पासमा लुविस डियाजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको खेल आफ्नो पक्षमा पार्न सफल भएको कोलम्बियाले दोस्रो हाफमा दुई दोल खान पुग्यो।

खेलको ७८औं मिनेटमा ब्राजिल तथा इंग्लिश क्लब लिभरपुलका स्ट्राइकर रोबर्टो फर्मिनोले गोल गर्दै ब्राजिललाई बराबरीमा पुर्याए। दोस्रो हाफमा निकै विवादास्पद भएको खेलमा १० मिनेटको अतिरिक्त समय थपियो।

सो अतिरिक्त समयको अन्तिम मिनेटमा ब्राजिलले दोस्रो गोल थप्यो। खेलको १००औं मिनेटमा ब्राजिलका स्टार खेलाडी नेयमारको पासमा कासेमिरोले गोल गर्दा ब्राजिलले ३ खेलमा ३ जित निकाल्न सफल भएको हो।

यस जितसँगै ब्राजिल उत्तरी समुहको शीर्ष स्थानमा रहेको छ। क्वार्टर फाइनलको यात्रा सुनिश्चित गरिसकेको ब्राजिललाई पछ्याउँदै कोलम्बिया ४ खेलमा ४ अंक सहित दोस्रो स्थानमा रहेको छ।

त्यस्तै बिहीवार बिहान सम्पन्न पहिलो खेलमा इक्वेडर र पेरूले २-२ गोलको बराबरी खेल खेलेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?