अन्तरजिल्ला सुरक्षा समन्वयमा ध्यान दिन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

हालै सरुवा भएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई आज निर्देशन दिँदै उनले परिस्थितिअनुसार पूर्ण व्यावसायिक रुपमा काम गर्न पनि आग्रह गरे ।

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनले जिल्ला कमान्डरको आधारभूत भूमिका वहन गरी समग्र सुरक्षाको अनुभूति गराई सौहार्दपूर्ण वातावरण बनाउन विशेष चनाखो भई परिचालित हुन सुझाव दिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मनसुनजन्य विपद्, कोभिड–१९ को संक्रमण जस्तो विषम परिस्थितिमा विपद् व्यवस्थापन तथा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा आआफ्ना तर्फबाट सक्रियतापूर्वक योगदान पु¥याउनका लागि आवश्यक सुरक्षा योजनाका साथ लाग्न निर्देशन दिए ।

आर्थिक अनियमितताविरुद्ध खरो रुपमा प्रस्तुत भई प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि प्रहरी नेतृत्वलाई व्यवहार, सुविधा, ड्युटी, बिदा र कार्यसम्पादन मूल्यांकन न्यायोचित रुपमा गर्न पनि उनले सुझाव दिएका छन् । उनले सीमा अपराध नियन्त्रण तथा आपराधिक गतिविधि निस्तेज पार्नका लागि सम्बन्धित निकायसँग आपसी समन्वय बढाउन पनि आग्रह गरेका छन् । प्रहरी प्रधान कार्यालयले यही असार ८ गते ५२ प्रहरी उपरीक्षक र ५७ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?