जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि एक अर्ब ४७ करोड ३० लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको सातौंँ नगरसभामा उपप्रमुख रीताकुमारी झाले चालु खर्चतर्फ ९८ करोड २० लाख ६० हजार रुपैयाँ र पूँजीगततर्फ ४९ करोड ५० लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।
उपमहानगरपालिकाले कोभिड – १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान रकमका अतिरिक्त स्वास्थ्यतर्फ एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
जनकपुरधाम पर्यटन प्रवद्र्धन तथा विकास सम्बन्धित विविध कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी आवदेखि उपमहानगरपालिका भित्र स्नातकस्तरको प्राविधिक शिक्षालय सञ्चालन अनुमति प्राप्त गरी प्राविधिक शिक्षालय सञ्चालनका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै वार्षिक पोशाक खर्च १० हजार रुपैयाँ र मासिक रुपमा प्राप्त गर्दै आएको यातायात खर्चमा ५०० रुपैयाँ वृद्धि गरिएको छ ।
श्रमजीवी पत्रकारको बीमा गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ धनुषालाई तीन लाख रुपैयाँ र उपमहानगरपालिकाका सम्पूर्ण सञ्चारमाध्यमलाई समानुपातिक ढंगले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन तीन लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया