काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत शुक्रवार भएको पहिलो खेलमा उरुग्वेले बोलिभियालाई २-० गोलले पराजित गरेको छ।
दक्षिणी समूह अन्तर्गत ब्राजिलको माटो ग्रोसोस्थित ‘एरेना पन्टानाल’मा भएको खेलमा सर्वाधिक कोपा अमेरिका विजेता उरुग्वेले यस संस्करणमा आफ्नो पहिलो जित दर्ता गरेको हो। उरुग्वेको जितमा म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी एडिनसन कभानीले एक गोल गर्दा बोलिभियाको खेलाडीले एक आत्मघाती गोल गरे।
पहिलो हाफको ४०औं मिनेटमा बोलिभियाका गोलरक्षक कार्लोस लाम्पेले आत्मघाती गोल गर्दा उरुग्वेलाई अग्रता मिलेको थियो। शुरुवाती ४५ मिनेटमा अग्रता लिएको उरुग्वेले दोस्रो हाफको ७९औं मिनेटमा अर्को गोल थप्यो। स्ट्राइकर एडिनसन कभानीले फकुन्डो टोरेसको पासमा बक्स भित्रबाट प्रहार गरेको शटले जाली चुम्दा यस प्रतियोगितामा उरुग्वेको पहिलो जित सुनिश्चित भएको हो।
यस जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक बटुलेको छ। दक्षिणी समूहको अंक तालिकामा उरुग्वे चौथो स्थानमा रहँदा अर्जेन्टिनाले शीर्ष स्थान ओगटेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया