पर्यटन प्रवद्र्धनसँगै प्रांगारिक उत्पादन

नुवाकोट, १० चैत । स्थानीय पञ्चकन्या फार्म हाउसले कृषिजन्य वस्तुलाई रसायनमुक्त गरी प्रांगरिक उत्पादन गर्न थालेको छ ।स्थानीय गाउँलाई ‘प्रांगरिक गाउँ’ रुपमा रुपान्तरण गरी पर्यटन क्षेत्रको विकास गर्न यस्तो अभियान अगाडि सारिएको हो । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको पञ्चकन्या गाउँपालिका–३ मा धान, कोदो, मकै, अदुवा, कफी, सागसब्जीलगायत तरकारीको प्रांगरिक उत्पादन गरिएको छ ।खसी, बोका तथा गाईवस्तुको मललाई प्रयोग गरी उक्त हाउसले ग्रामीण परिवेशमा स्वस्थ्यकर खाद्य सामग्रीको उत्पादन गरी वस्तुको बिक्री गरेको छ । करिब ११० रोपनी क्षेत्रफलमा फैलिएको हाउसले ‘होम स्टे’समेत हालै सञ्चालनमा ल्याएको छ । हाल पञ्चकन्या गाउँपालिका तथा साबिक पञ्चकन्या गाविस–१ मा पर्ने उक्त क्षेत्रका पूर्व वडाध्यक्ष राम थापाले बाँस र काठजन्य सामग्रीबाट निर्माण गर्नुभएका १० घरमा करिब एकसय जनाले एकैसाथ अटाउन सक्नेछन् ।हाउसका सञ्चालक थापाले पछिल्लो समयमा उत्पादन वृद्धि गर्ने नाममा विभिन्न हानिकारक रसायनको प्रयोग गरी विषादीयुक्त खाद्य सामग्री फलाएका कारणले विभिन्न रोग बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै नेपाली समाजको परम्परागत मौलिकता भएको स्थानीय कृषि वस्तुको खेतीलाई पुनः प्रांगरिक बनाउन आफूले अभियान शुरु गरेको बताउनुभयो । अग्लो उचाइमा रहेको त्यस क्षेत्रमा भएका धेरै टारी खेतमा फल्ने स्थानीय चामललाई प्रांगरिक उत्पादनका रुपमा विकास गर्न सकिने देखिएको छ । गाउँपालिकामा करिब तीन हजार ५०० जनसङ्ख्या छ ।समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको उक्त स्थानबाट राउचुली, लाङटाङ, लाङटाङ री, पुमरी, दोर्जे लाक्पा नामका हिमाललाई नजिकबाट हेर्न सकिन्छ । यहाँ पर्यटकीय गन्तव्यका रुपमा पर्याप्त सम्भावना बढ्दै गएको छ । गत वर्ष आङ तेम्वा शेर्पाले स्थानीय बोकेडाडाबाट प्यराग्लाइडिङ गरेका कारण अहिले त्यसको व्यावसायिक प्रयोजनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । त्यहाँबाट विभिन्न हिमालका साथै मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटनको विकास गर्नका लागि गृहकार्य भइरहेको गाउँपालिका अध्यक्ष रामबाबु पराजुलीले जानकारी दिए ।कृषि उत्पादनलाई प्रांगरिक बनाउन र बेमौसमी तरकारी उत्पादनका लागि बीउबिजन कृषकलाई निःशुल्क वितरण गर्न लागिएको वडाध्यक्ष पराजुलीले बताए । उक्त स्थानबाट धादिङ, गोर्खा, रसुवा, सिन्धुपाल्चोकलगायतका स्थानलाई नजिकैबाट देख्न सकिन्छ । विभिन्न चराचुरुङ्गीको आवतजावत हुने त्यस आसपास क्षेत्रमा पूर्वाधारको विकासका लागि भने केही लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ ।पहिले तिब्बतसँग आर्थिक कारोबार गरिँदै आएको मानेभञ्ज्याङ पुरानो व्यापारिक नाकाका रुपमा त्यसै क्षेत्रमा अवस्थित छ । त्यस क्षेत्रलाई प्रांगरिक गाउँ बनाउन सकेमा कृषि पर्यटन विकासका लागि पर्याप्त अवसर रहेकाले स्थानीय तहले प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरी पूर्वाधारको संरचना तयार गर्नुपर्ने स्थानीयवासी रमेश कँडेलले बताए ।काठमाडौँको नयाँ बसपार्क गोंगवुबाट मानेभञ्ज्याङसम्म सार्वजनिक बस सेवा सञ्चालन हुने गरेको भए पनि स्थानीय छहरेबाट अगाडि बढेपछि कच्ची सडक हुँदै करिब २० किलोमिटर माथिसम्म जानपर्ने बाध्यता छ । वेलुमकोट, भैरुमकोट, सिमलकोट, मालाकोट, धुवाकोट, कालीकाकोट, धैवुङकोट, प्यासकोट र सल्यानकोट तथा स्थानीय भञ्ज्याङलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । डाँडामा चलिरहने बतासबाट वायु ऊर्जाको समेत सम्भावना छ । यी नौवटा कोटबाट नुवाकोट नामाकरण हुन गएको विश्वास छ । स्थानीय पञ्चकन्या मन्दिर, कालिका मन्दिरमा विभिन्न समयमा लाग्ने जात्रा पर्व त्यहाँको अर्को रमाइलो पक्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?