नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाडौं । अर्को महिना स्पेनमा आयोजना हुने भनिएको ‘आइसीसी विश्वकप क्रिकेट लिग-२’ प्रतियोगिता स्थगित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पनि स्थगित भएको छ।

नेपाल, नामिबिया र स्कटल्यान्डले खेल्ने लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज सन् २०२२ जुलाई महिनासम्मको लागि स्थगित भएको जानकारी नेपाल क्रिकेट संघ ‘क्यान’ले गत बिहीवार नै दिएको थियो । सोही प्रतियोगिताको तयारी गरिरहेको नेपाली टोलीको बन्द प्रशिक्षण पनि हालको लागि स्थगित गरिएको जानकारी क्यानले दिएको छ।

कोभिडको प्रभावका कारण स्पेनमा हुने तय भएको प्रतियोगिता अन्तिम समयमा स्थगित गरिएको जानकारी ‘क्यान’ले दिएको थियो। उक्त प्रतियोगिता स्पेनको ‘डेजर्ट स्प्रिङ क्रिकेट मैदान’मा खेलिने कार्यक्रम रहेको थियो।

 

सो प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण मंगलवारबाट शुरु भइसकेको थियो। बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ ‘क्यान’ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो।

लिग-२ को प्रतियोगिता अन्तर्गत नेपालले ४ खेल खेलिसकेको छ। आफ्नो घरेलु मैदानमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्दा ४ अंक बटुल्न सफल भएको हो। नेपाल यस प्रतियोगिताको अंक तालिकामा ६औं स्थानमा रहँदा ओमान शीर्ष स्थानमा रहेको छ। ओमानले १० खेलमा १६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको अमेरिकाले १२ खेलमा १२ अंक जोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?