- अर्घेलो थापा
छुवाछुतको कलंक मेट ए नेपाली छौ भने सचेत रुमाल धोको छु यो खोलीको पानी कोइ नखानू मैले छोको छु यो गीतलाई राजु परियार र कृष्णा परियारले केही वर्षअघि गाएका थिए । गीतका शब्दलाई झलक संगीतम र सञ्जिवनीले लेखका थिए । यो गीत अहिले पनि उत्तिकै रुचाइन्छ, सुनिन्छ । वर्गीय र जातीय छुवाछुतका विरुद्धमा अहिले पनि आवाज उठिरहेका छन् । यही मुद्दालाई टेक्दै राजनैतिक रुपमा पनि अग्रगामी परिवर्तन भइसकेका छन् नेपालमा । अझै पनि समाजमा जातीयताको जरो अझै ढलेको छैन । तर, सिनेमा, साहित्य र संगीतका माध्यमबाट कलाकारले समाजलाई घच्घचाइरहन कलाकार उत्तिकै अग्रसर देखिएका छन् । चाहे नाटककै माध्यमबाट किन नहोस्, तर जातीयताको आवाज लगातार उठिरहेको छ । पहिलेको तुलनामा छुवाछुत र हिंसाका घटना केही मत्थर भएजस्तो लागेपनि पूर्ण रुपमा सकिएको भने छैन । समाजसम्म पुग्नका लागि अन्य माध्यमभन्दा सहज माध्यमका रुपमा संगीतलाई लिने गरिन्छ । https://www.youtube.com/watch?v=AdPyRFdZxrY यसरी जातीय छुवाछुतको आवाज उठाइएका कैयन् गीत समाजद्वारा रुचाइएका छन् । जतिबेला जातीयताको जालो समाजमा बाक्लैसँग बुनिएको थियो, त्यतिबेला यी गीत सुन्ने दर्शक पनि उत्तिकै थिए । खासगरी ग्रामीण क्षेत्रमा छुवाछुतका घटना घटिरहेका हुन्थे । तर छुवाछुतको विरुद्धमा बोल्ने आँट कमैले गर्थे । पचासदेखि साठीको दशकमा यस्ता गीत यति सुनिए कि, एक किसिमको गीति आन्दोलन जस्तै भयो संगीत क्षेत्रमा । खासगरी लोक गायक राजु परियार, कृष्णा परियार, यश कुमार, बीबी अनुरागी लगायतका कैयन् कलाकारले एकपछि अर्को गर्दै जातीय गीत बजारमा ल्याए । ती गीत दलित स्रोताकेन्द्रित थिएनन्, गैरदलितले पनि उत्तिकै रुचाए । समाज परिवर्तनका लागि गाइएका यस्ता गीतले कलाकारको लोकप्रियता मात्रै बढेन, धेरैले जातीय छुवाछुतको अन्त्य हुनुपर्छ भन्ने आवाज पनि चर्को उठ्यो । त्यसो त यो मुद्दा राजनैतिक हिसाबमा पनि उठिरहेको थियो । कलाले पनि सँगसँगै उठाएको थियो । छुवाछुतको अन्त्य पूर्ण रुपमा भएर नयाँ युगको शुरुवात भएको त होइन तर यस्ता गीतले समाजको गति बदल्न धेरै फरक पारेको गायक राजु परियार बताउँछन् । कार्यक्रमको सिलसिलामा यतिबेला पोखरामा रहेका उनले आफूले प्रसंशकबाट पाएका प्रतिक्रियाका आधारमा समाजलाई सन्देश दिएको बताउँछन् । ‘मैले राज्यलाई अरु केही दिन नसकेपनि समाज परिवर्तनको लागि कुनै न कुनै भूमिका निभाएको रहेछु, सुनपानीले छर्क मायालु सुनेपछि धेरैले छुवाछुत गलत हो भनेर मलाई नै म्यासेज पठाउने प्रशंसक पनि हुनुहुन्छ’, परियार थप्छन्, ‘छुवाछुतका विरुद्ध गाएका गीतले समाज परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेलेको मैले अनुभव गरेको छु ।’ जबसम्म नेपाली समाजबाट जातीय मुद्दा अन्त्य हुँदैनन्, तबसम्म यी गीत स्रोताले सुनिरहने र समाजमा कुनै न कुनै सन्देश प्रवाह गरिरहने परियार बताउँछन् । नेपाली समाजमा बिस्तारै छुवाछुतको जालो फाट्दै गएपनि अझै पनि ‘जातीय छुवाछुत’ शीर्षकका समाचार दैनिकजसो आइरहेका हुन्छन् । अभिनेता तथा गायक यश कुमार पनि गीतले समाज परिवर्तनका लागि ठूलो भूमिका निभाएको बताउँछन् । उनले गाएको ‘म आफ्नै आँगनमा इनार बनाउँछु’ गीतलाई आजसम्म सुनेको छैन भन्ने स्रोता नै नभेटेको उनी बताउँछन् । ‘जातीयताको विरोधमा गाएका गीतलाई दलित स्रोताले भन्दा धेरै गैर दलित स्रोताले रुचाउनु भयो, उहाँहरुमा गीतले पक्कै कुनै न कुनै चेतना छोड्यो’, यश कुमार भन्छन्, ‘शायद उहाँहरुले परिवर्तन चाहनुभएको थियो तर छुचो बन्न चाहनुभएको थिएन, त्यसैले ती गीत सबै दर्शकले रुचाउनु भयो ।’ https://www.youtube.com/watch?v=QpqgISpowQI समाजमा जसले परिवर्तन चाहेका थिए, उनीहरुले मनको कुरा नै भन्यो भनेर धन्यवाद दिएको समेत यश कुमार बताउँछन् । उनले गाएको ‘म आफ्नै आँगनमा इनार बनाउँछु’ र ‘मैले छोएको पानी चल्दैन’ गीत सर्वाधिक चर्चित गीत हुन् । आफ्ना गीत अहिले पनि दर्शकले उत्तिकै रुचाउने यश कुमार बताउँछन् । नेपाली समाजमा मात्र होइन, छिमेकी मुलुक भारतमै पनि दलित वर्ग विभिन्न बहानामा हेपिएका घटना सधैजसो सुन्नुपरेको छ । समाज परिवर्तन र सामाजिक चेतका लागि कलाको माध्यमबाट यस्ता विषयवस्तु उठाउँदा समाजलाई अझ सहज र मनोरञ्जनात्मक माध्यमबाट आफ्ना कुरा बुझाउने गरिएको पाइन्छ । गायक तथा संगीतकार बीबी अनुरागले भाषण गरेर भन्दा संगीतको माध्यमबाट छुवाछुतको आवाज उठाउँदा समाजसँग पुग्दा अझै छिटो पुगिने बताउँछन् । ‘नेताको भाषणको भन्दा संगीतको प्रभाव बढी हुन्छ, जातीय छुवाछुतका गीत गाउँदा सन्देश पनि पुग्छ र स्रोतालाई मनोरञ्जन पनि हुन्छ’, अनुरागी भन्छन्, ‘जन मानसलाई परिवर्तन गर्न यस्ता गीतले केही न केही भूमिका खेलेकै हुन्छन् ।’ राजु र कृष्णाले स्वर दिएको गीत ‘रुमाल धोको छु’ कुनै बेला सर्वाधिक चर्चामा थियो । धेरैको मनमा कुनै न कुनै माध्यमबाट यो गीत पुगेकै हुन्थ्यो । यसै आधारमा पनि यो गीतले मान्छेले मान्छेलाई गर्ने व्यवहार फेरिनुपर्छ भनेर सोच्ने वातावरण निर्माण गरेको अनुरागी बताउँछन् । ‘यो गीत (रुमाल धोको छु) चर्चामा आएपछि राजु र कृष्णाले कैयौंपटक मञ्चमा गाएका छन्, मैले पनि गाएको छु, कतिपटक हामीलाई आमन्त्रण गरिएको छ’, उनी थप्छन्, ‘मान्छे मान्छेबीचको यो छुत फेर्नका लागि गीतले अझै छिटो समाजको चेतना परिवर्तन गर्न सक्छन् ।’ अनुरागीले यस्ता कैयन् जातीय छुवाछुतका गीतमा आफूले लामो समय काम गरेको बताउँछन् । भलै समाज परिवर्तनकै संघारमा रहेपनि अहिले धेरैलाई भने सबै मान्छे एउटै हुन्, काटे सबैको रगत रातै आउँछ भन्ने भावना जागेको छ । कलाकारले भनेजसस्तै भनेजस्तै गीतले समाज परिवर्तनमा सकारात्मक प्रभाव पारेका छन् । यश कुमार भन्छन्, ‘गीतले उठाएको जातीयताको आवाज सही थियो र सही छ भन्ने धेरैलाई लागेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया