दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर, दुई बालिकाको मृत्यु

सप्तरी । द्रूत गतिको एक ट्यांकरले आज सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित सडकमा दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सितापुरमा भएको दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी प्रमाणीको र चाँदनी चौकमा भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो.अरन्जैबकी छोरी ७ वर्षीया सुमैया प्रविणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ना ७ ख ५४९५ नम्बरको ट्यांकरले सितापुर चाँदनी चौकमा स ११ प २५८५ नम्बरको मोटरसाइकललाई र वीरेन्द्र बजारमा स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले बताए । दुर्घटनामा यसोदाकी आमा ३२ वर्षीया सुमनदेबी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् । यसैगरी सुमैयाकी परिवारकी सदस्य नविया प्रबिण घाइते भएकी छिन्।

घाइतेहरूको कञ्चनरूप नगरपालिकाको ठेलियास्थित अस्पतालमा उपचार भइरहेको छ । मृतक परिवारलाई क्षतिपूर्ति र मनोमानी ढङ्गले सवारी साधन चलाउनेलाई कारवाहीको माग गर्दै स्थानीयले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?