कोपा अमेरिका २०२१ : इक्वेडरविरुद्ध ब्राजिलको बराबरी, क्वार्टर फाइनलमा चिले वा उरुग्वेसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत आइतवार राती भएको खेलमा साविक विजेता ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको छ।

ब्राजिलको ‘स्टेट अफ गोइयास’मा सम्पन्न उत्तरी समुहको अन्तिम चरणको खेलमा इक्वेडरले साविक विजेता ब्राजिललाई बराबरीमा रोक्न सफल भएको हो। यस खेल अघि नै क्वार्टर फाइनलको यात्रा तय गरिसकेको ब्राजिलले इक्वेडरविरुद्धको खेलमा नेयमार लगायत अन्य खेलाडीलाई आराम दिएको थियो।

पहिलो हाफको ३७औं मिनेटमा ब्राजिलले खेलमा अग्रता लियो। एभर्टनको शानदार क्रसमा ब्राजिलका रक्षक एडर मिलिटाओले हेडर गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

उता क्वार्टर फाइनलको यात्रा सुनिश्चित गर्न हार टार्न खोजिरहेको इक्वेडरले दोस्रो हाफमा बराबरी गोल गर्न सफल भयो। खेलको ५३औं मिनेटमा एनर भ्यालेन्सियाको पासमा एन्जल मेनाले गोल गर्दा इक्वेडर खेलमा फर्कियो।

निर्धारित ९० मिनेटको खेलमा अरु कुनै गोल नहुँदा दुवै टोलीले समान १-१ अंक बाँडेका हुन्। उत्तरी समूहमा समूह चरणका सबै खेल सकिँदा ब्राजिलले ४ खेलमा १० अंक बटुलेको छ।

उत्तरी समुहको शीर्ष स्थानमा रहेको ब्राजिलले क्वार्टर फाइनलमा दक्षिणी समूहको चौथो स्थानमा रहेको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिणी समूहमा एक खेल खेल्न बाँकी रहेको उरुग्वे ४ अंक सहित चौथो स्थानमा छ भने आफ्नो सबै समूह चरणका खेल खेलिसकेको चिले ५ अंक सहित तेस्रो स्थानमा रहेको छ।

त्यस्तै आइतवार राति नै सम्पन्न अर्को खेलमा पेरूले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गरेको छ। आफ्नो समूह चरणको अन्तिम खेलमा जित निकाल्दै पेरू अंक तालिकामा दोस्रो स्थानमा रहन सफल भएको छ भने भेनेजुएलाको कोपा यात्रा अन्त्य भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?