काठमाडौं । झापाको कमल गाउँपालिका–५ को कार्यालय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
पाडाजुङ्गी चोक पूर्व पाथीभरा चोकको १७ धुर जमीनमा निर्माण गरिएको नवनिर्मित वडा कार्यालय भवनको १ नं प्रदेशसभाका सुशासन तथा योजना समितिका सभापति अर्जुन राईले उद्घाटन गरेका हुन् ।
उपभोक्ता समितिमार्फत प्रदेश सरकारको रु २५ लाख र गाउँपालिकाको रु ५४ लाख गरि कूल रु ७९ लाखको सभाहलसहित छकोठे एकतले पक्की वडा कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिए।
भवन उद्घाटनपछि आजदेखि नै कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएको उनले बताए । यसअघि वडा कार्यालय पाडाजुङ्गीस्थित भाडाको घरमा थियो ।
भवन निर्माणका लागि स्थानीयवासी सन्तोष, राजकुमार, नरेन्द्र, विष्णु, प्रेम र कृष्ण कार्की दाजुभाइले आफ्ना दिवङ्गत पितृ चीनबहादुर र चन्द्रकला कार्कीको स्मृतिमा करीब रु ३० लाख मूल्य पर्ने सो जग्गा वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको थियो ।
विसं २०७७ वैशाख २७ गते शिलान्यास गरिएको भवन बनाउन बलराम गजुरेलको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्नाका साथै जग्गादाता सन्तोष कार्कीको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया