टोटनह्यामको मुख्य प्रशिक्षकमा नुनो

काठमाडौं । इंग्लिश क्लब टोटनह्याम हटस्परले नुनो एसपेरितो सान्तोलाई आफ्नो नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

गत अप्रिल महिनामा जोसे मौरिन्होलाई बर्खास्त गरेको टोटनह्याम त्यस यता नयाँ प्रशिक्षकको खोजीमा थियो। पछिल्लो तीन महिना रायन मेसनलाई केयर टेकर प्रशिक्षकको जिम्मेवारी दिएको टोटनह्यामले बुधवार नुनोलाई दुई वर्षको सम्झौतामा नियुक्त गरेको हो।

यसै वर्ष अर्को इंग्लिश क्लब वुल्भस्को मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेका नुनो इङ्ल्यान्डमै रहने पक्का भएको छ। वुल्भस्सँग चार वर्ष बिताएका नुनोले वुल्भस्लाई आफ्नो पहिलो सिजनमै च्याम्पियनशिपबाट प्रिमियर लिगसम्म लिएर आउन सफल भएका थिए।

सन् २०१८/१९ र २०१९/२० सिजनमा वुल्भस्लाई प्रिमियर लिगमा सातौं स्थान दिलाउन सफल भएका प्रशिक्षक नुनो टोटनह्यामका लागि सुहाउँदो प्रशिक्षक हुन् भन्ने अनुमान लगाइएको छ। ४७ वर्षीय नुनोले टोटनह्यामसँग सन् २०२३ सम्मको सम्झौतामा हस्ताक्षर गरेका छन्।

 

यो पनि : नुनो एसपेरितो सान्तो : ‘निस्सन्देह’ एक सफल व्यक्तित्व

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?