काठमाडौं । इङ्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाको टोली दोस्रो एकदिवसीय खेलमा पनि पराजय भोग्दै तीन एकदिवसीय खेलको शृङ्खलामा २-० ले पछि परेको छ।
इङ्ल्यान्डको ‘दि ओभल’मा बिहीवार सम्पन्न दोस्रो एकदियसिय खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकन टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४१ रनको योगफल तयार पारेको थियो। एक अवस्थामा २१ रनमा ४ विकेट गुमाइसकेको श्रीलंकाको पारी धनन्जय डे सिल्भाले सम्हाले।
डे सिल्भाले सर्वाधिक ९१ रनको पारी खेल्दा दसुन सनकाले ४७ रन जोडे। इङ्ल्यान्डका तिब्र गतिका बलिङ अलराउन्डर स्याम करनले व्यक्तिगत १० ओभरमा ५ विकेट लिन सफल भए।
जवाफी ब्याटिङमा २४२ रनको लक्ष्य पछ्याउँदै गरेको इंग्लिश टोलीले मात्र ४३ ओभरमा २ विकेट गुमाउँदै खेलमा जित दर्ता गर्न सफल रह्यो। इङ्ल्यान्डका लागि कप्तान अन मोर्गनले अविजित ७५ रनको पारी खेले भने जो रुटले अभिजित ६८ रन जोडे। त्यस्तै ओपनर जेसन रोयले पनि ६० रन बनाउन सफल भए।
दोस्रो एकदिवसीय खेलमा श्रीलंका माथि ८ विकेटको शानदार जित निकाल्न सफल इङ्ल्यान्डले एक खेल अगावै सिरिज आफ्नो कब्जामा पारेको छ। आफ्नो उत्कृष्ट बलिङका लागि स्याम करन खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया