धुलो धुवाँबाट आँखा बचाउन चिकित्सकको सुझाव

चितवन, १२ चैत । गर्मी शुरु भएसँगै ठाउँ ठाउँमा लागेको डढेलो, धुलोलगायत कारण यसको प्रत्यक्ष प्रभाव आँखामा पर्न थालेको छ ।तराईदेखि पहाडसम्मका राष्ट्रिय वन, सामुदायिक वन, निकुञ्ज, निजी वनमा यतिबेला डढेलो लाग्ने गरेको छ । कतिपय ठाउँमा घाँसे मैदान व्यवस्थापनका लागि आगलागी पनि गर्ने गरिएको छ । धुलो र खरानी टाढा टाढासम्म फैलिएर मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।श्वासप्रश्वाससँगै आँखा रातो हुने, बिझाउने, धुलोका कण नानीमा अड्किएर घाउ हुनेजस्ता समस्या देखिएका छन् । भरतपुर आँखा अस्पतालका डा पुष्पा गिरी श्रेष्ठ धुलो धुवाँका कारण विभिन्न समस्या लिएर बिरामी आउन थालेको बताउनुहुन्छ । उनले आँखालाई धुवाँ धुलोबाट बचाउन सकेसम्म चस्मा लगाउने, सम्भव नभए घरबाट बाहिरिँदा र फर्किंदा सफा पानीले आँखा सफा गर्न सुझाव दिए ।उनले आँखा बचाउनका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिए । यद्यपि समय समयमा आँखालाई विस्तारै सफा पानीले सफा गरेमा समस्या कम हुने डा श्रेष्ठको भनाइ छ ।घरबाट खेतबारीमा होस् वा शहर बजार जहाँ जाँदा पनि आँखा सफा पानीले सफा गरेर जाने, सम्भव भएको समयमा सफा पानीले सफा गरिरहने र घर फर्किएपछि पनि सफा गर्ने गरेमा आँखालाई बचाउन सकिने श्रेष्ठ बताए ।तराई र भित्री मधेशको आकाश यतिबेला धुलोका कण, धुवाँ र खरानीले भरिएको छ । ती सबै आँखाका लागि हानिकारक छन् । रुख बिरुवाको पालुवा पलाउने समय भएकाले यतिबेला त्यसकै कारण पनि आँखामा एलर्जी हुने हुँदा त्यसबाट जोगिन उनले सुझाव दिए । आँखामा धुलो धुवाँ पसेर अप्ठ्यारो भएमा नमिच्न र दबाब हुने गरी पानी नपार्न उनले आग्रह गर्दै तत्काल आँखा अस्पताल वा स्वास्थ्य संस्थामा जान सुझाव दिए ।अस्पतालमा आँखा पाकेर, संक्रमण भएर, नानीमा घाउ भएर बिरामी आउन शुरु गरेको भन्दै डा श्रेष्ठले बालबालिका र वृद्धवृद्धालाई पनि सन्देश दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?