काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान नै चल्ने दावी गरेका छन् ।
शनिबार काठमाडौंमा त्रिशुली-प्रसारण लाइन र सबस्टेसनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताए । ‘अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पेन नै चल्नेछ’ उनले भने, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।’
ओलीले सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने तर सबैलाई एकैपटक खोप लगाउन सम्भव नभएको प्रस्ट पारे। ‘सकेसम्म छोटो अवधिमा खोप उपलब्ध गराउने छौं। एक दुई दिनमा भ्यक्सिन आइपुग्छ,’ उनले भने। ओलीले नेपालमा अरु देशको तुलनामा कोरोनाका कारण क्षति कम भएको बताए। ‘अरु देशको तुलनामा थुप्रै हिसाबले क्षति कम छ,’ उनले भने।
कोभिड-१९ का कारणले मात्रै विदेश जानेको संख्या नघटेको ओलीको भनाई छ। सरकारले विकास निर्माणका काम गरिरहेकाले विदेश जानेको संख्या घटको ओलीको दाबी छ। कोरोनालाई रोक्नेका लागि सरकार केन्द्रित भएको ओलीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया