२००६ चैत २७ मा स्थापना भएको नेपाली कांग्रेसले हालसम्म १३ वटा महाधिवेशन गरिसकेको छ । तत्कालिन नेपाल राष्टिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकिकरण गरि कांग्रेसको स्थापना भएको हो ।
कांग्रेसको आगामी १४ औँ महाधिवेशन भदौ १६ देखि १९सम्म काठमाडौंमा हुने छ । १३ वटा महाधिवेशन र त्यसबाट निर्वाचित नेतृत्वसम्म आइपुग्दा हाल शेरबहादुर देउवाले पार्टी हाँकिरहेका छन् ।
२०७२ फागुन २० देखि २३ सम्म काठमाडौंमा भएको महाधिवेशनबाट सभापतिका रुपमा देउवा निर्वाचित भएका हुन् ।
हरेक ४/४ वर्षमा महाधिवेशन गर्नुपर्ने वैधानिक प्रावधान रहेपनि पार्टीभित्रको आन्तरिक किचलोका साथै कोरोना महामारीको पहिलो र दोस्रो भेरियन्टका कारण २०७७ फागुनमा हुनुपर्नेमा महाधिवेशन केहि पर धकेलिएको थियो ।
यसअघिका १२ वटा र हालको १३ औँ महाधिवेशनबाट आएको नेतृत्वसम्म आइपुग्दा कांग्रेसभित्र के के भए ? हालसम्म को–को नेतृत्वमा आए र नयाँ नेतृत्व हस्तान्तरणमा कस्ता कस्ता किस्साहरु भए ?
पहिलोदेखि १३ औं महाधिवेशनको इतिहासलाई लोकपथले क्रमश: नियाल्ने प्रयास गरेको छ ।
पहिलो महाधिवेशन
वीपीको प्रश्नः के स्वतन्त्रताको लक्षण यहि हो ?
कांग्रेस स्थापना २००६ मा भएपनि त्यसअघि नै वीपी कोइराला, गणेशमान सिंह लगायत नेताहरुले संगठनलाई भित्रि रुपमा मजबुत बनाउँदै थिए ।
यसैक्रममा २००३ मा माघ १२ र १३ मा भारतको कलकत्ताको भवानीपुरस्थित खालसा भन्ने हाइस्कुलमा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो महाधिवेशन भयो । महाधिवेशनमा नेपालबाट गएर भारतमा बसेका प्रवासी नेपालीको बढी सहभागिता रहेको थियो । त्यही बेला नेपालमा राणा विरोधी आन्दोलनका क्रममा जेल परेका गणेशमान सिंह जेल तोडेर जीवन रक्षाका लागि भारत पुगेका थिए । महाधिवेशनले वीपी कोइरालाई कार्यकारी सभापति र टंकप्रसाद आचार्यलाई मानार्थ सभापति घोषित गरेको थियो । महाधिवेशनको उद्घाटन सत्रको शुरुवातमा डा. डिल्लीरमण रेग्मीले झण्डोत्तोलन गरेका थिए भने भारतका तत्कालिन राष्ट्रपति आचार्य जेवि कृपालानी लगायत थुप्रै भारतीय नेताहरुले शुभकामना दिएका थिए ।
पहिलो महाधिवेशनको मुख्य उदेश्य भनेको विस्तार हुँदै गरेको कांगेस संगठनको रुपरेखा,सिद्धान्त र कार्य प्रणाली निश्चित गर्नु नै थियो । २००३ मा भएको प्रथम महाधिवेशनले पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस राखेको थियो ।
राणा शासनको जगजगीबाट देशलाई मुक्त बनाउने सपना देखेका वीपी लगायतका तत्कालिन नेताहरुले जनतालाई सुुसुचित गराउनका लागि एउटा संगठनको परिकल्पना गरेका थिए । जुन कालान्तरमा एकिकृत भइ नेपाली कांग्रेस बन्न पुग्यो । उक्त महाधिवेशनले नेपाली जनताको सार्वभौम अधिकारलाई सुनिश्चित गर्न लाग्ने, प्रजातन्त्र स्थापनाको लागि अहिंसात्मक जनक्रान्ति गर्ने तथा सबै जात, धर्म, लिंग, वर्ण र हरेक आर्थिक अवस्थाका नेपाली नागरिकलाई यस संस्थाको सदस्य तथा पदाधिकारी हुनसक्ने व्यवस्था गरेको थियो ।
पहिलो महाधिवेशनको संस्थापक सभापति बने लगत्तै वीपीले सम्बोधन गर्दै नेपाली जनतालाई १०४ वर्षदेखि शासन गर्दै आएका राणाहरुले कुण्ठित गरेको नेपाली जनको हकअधिकार सुनिश्चित गर्न लाग्ने प्रतिबद्दता ब्यक्त गरेका थिए । नेपाली जनता शासकबाट बढी असुरक्षित रहेको र हक अधिकारसहित सबै जीवन नै शासकको पोल्टामा रहेको वीपीको भनाइ थियो ।
महाधिवेशनलाई सम्बोधन गर्दै वीपीले भनेका थिए,‘हाम्रो वर्तमान शासकहरुले ‘हाम्रो देश नेपाल अझै स्वतन्त्र छ’ भनेर आफ्ना सोझा प्रजालाई छक्याएको देख्दा हाँसो उठ्छ । के स्वतन्त्रताको लक्षण यहि हो ? यहाँ रहेको देशव्यापी अशिक्षा र दरिद्रताले मानिस र पशुमा खासै अन्तर छैन । जनतालाई बोल्ने स्वतन्त्रता छैन, हिँड्ने स्वतन्त्रता छैन, विचार गर्ने स्वतन्त्रता छैन, रुने–हाँस्ने स्वतन्त्रता छैन । जनताको मान,इज्जत, जीवन, परिवार, धन, यश कुनै सुरक्षित छैन । स्वेच्छचारी शासक वर्गको मर्जी र हुकुमको अगाडी सबै निरीह छन् । कानून भनेको के पनि पनि होइन भने केवल प्रभुको हुकम मात्र ठूलो कुरा हो ।’
वीपीले पहिलो महाधिवेशनबाट वर्तमान शासकका विरुद्ध आगो ओकल्दै उत्तरदायी शासन व्यवस्था स्थापनाका लागि आन्दोलनमा होमिन सबैलाई आह्वान गरेका थिए ।
‘हामीहरुले निकै चेत्यौँ । संसार हामीभन्दा निकै अगाडी बढिसक्यो । उसलाई हामीहरुले दगुरेर भेट्टाउनुप¥यो । अब हामीसँग गँड्यौलाको चालले बामे सर्ने समय छैन,’ वीपीले त्यसबेला भनेका थिए,‘नेपाल सरकारले नगरपालिका र अरु त्यस्तै साधारण विभागमा काम गर्ने आफ्ना चाकरियालाई ‘जनताका जनप्रतिनिधि हुन्‘ भनेर प्रजाका आँखामा छारो हाल्ने समय उहिल्यै बितिसक्यो । हामी नेपालमा उत्तरदायी शासन स्थापना नभई कदापी सन्तुष्ट हुन सक्दैनौँ । नेपालको वर्तमान सरकारले जनताको भलो चाहन्छ भन्ने अझै बढी हानी हुनुभन्दै पहिले ने शुद्ध मनले तुरुन्तै यस काममा तत्परता देखाओस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया