ब्राजिल कोपा अमेरिकाको फाइनलमा, टिटेले रचे कीर्तिमान

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत मंगलवार भएको पहिलो सेमी फाइनल खेलमा ब्राजिलले पेरूलाई १-० गोल अन्तरले पराजित गरेको छ।

ब्राजिलको रियो डे जिनरोस्थित ‘निल्टन सान्टोस’ स्टेडियममा भएको सेमी फाइनल खेलमा साविक विजेता ब्राजिलले गत संस्करणको उप-विजेता पेरूलाई पराजित गर्दै कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ। ब्राजिलले पहिलो हाफमा गरेको एक गोल नै खेलमा निर्णायक बनेपछि ९ पटकको कोपा विजेता ब्राजिलले फाइनलको यात्रा तय गरेको हो।

पहिलो हाफको ३५औं मिनेटमा ब्राजिलले लुकास पाक्वेटा मार्फत खेलमा अग्रता लिन सफल भएको थियो। स्टार खेलाडी नेयमारले दुई डिफेन्डरलाई उत्कृष्ट तरिकाले बिट गरेर प्रदान गरेका असिस्टमा पाक्वेटाले गोल गरेका थिए। शुरुवाती ४५ मिनेटमा अरु गोल हुन नसक्दा ब्राजिलले पहिलो हाफमा १-० को अग्रता लिन सफल भएको थियो।

खेलमा कुल १५ शट प्रहार गरेको ब्राजिलले ८ शट पेरुको पोस्टमा राख्न सफल भएको थियो। तर पेरुका कप्तान तथा गोलरक्षक गाल्लेसले खेलमा उत्कृष्ट बचाउहरु गर्दा खेलमा अरु कुनै गोल हुन सकेन। पाक्वेटाको गोल नै खेलमा निर्णायक गोल हुँदा ब्राजिल यस संस्करणको कोपा अमेरिका फाइनलमा प्रवेश गरेको छ।

यस जितसँगै ब्राजिलका मुख्य प्रशिक्षक टिटेले नयाँ कीर्तिमान रचेका छन्। कोपा अमेरिकामा टिटेले ब्राजिलसँग लगातार १२ खेलमा पराजय भोगेका छैनन्। यस अघि ‘जगालो’ यो संख्या पुग्न सफल भएका थिए। समग्रमा टिटेको प्रशिक्षणमा रहेको ब्राजिल पछिल्लो १३ खेलमा हार विहिन रहेको छ भने ती मध्ये १० खेलमा गोल पनि खाएको छैन।

ब्राजिलले अब फाइनलमा अर्जेन्टिना र कोलम्बिया बिचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। नेयमार सम्मिलित ब्राजिलले फाइनलमा स्थान सुनिश्चित गरिसक्दा, मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको फाइनल यात्रा भने बुधवार खेलिने दोस्रो सेमी फाइनल खेलले बताउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?