बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार स्पष्ट दृष्टिकोणका साथ विकास निर्माणका काममा लागेको बताएका छन् । मकवानपुरको बकैया गाउँपालिकामा वाग्मती प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा निर्मित पुल उद्घाटनका अवसरमा उहाँले प्रदेश सरकार स्थापनापछि ४६ वटा पुल उद्घाटन गरिएको र थप १२ वटा पुल केही दिनमा उद्घाटन हुने जानकारी दिए । मुख्यमन्त्री पौडेलले विरोधीले जतिनै विरोध गरे पनि सरकार विकास यात्रामा अविराम अगाडि बढ्ने बताए ।
मुख्यमन्त्री पौडेलले प्रदेशको हरेक क्षेत्रको विकास गरेको दाबी गर्दै मकवानपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर स्वास्थ्यको क्षेत्रमा ऐतिहासिक काम गरिएको उल्लेख गरे । जिल्लामा अन्तर्राष्ट्रिय रङ्गशाला, बहुप्रविधिक विद्यालय, विशाल कृषि थोक बजार, पाउडर दूध उद्योग, पशु आहारा उद्योगजस्ता दूरगामी प्रभाव पार्ने योजना सञ्चालनमा ल्याएको उनले बताए । यस अवधिमा हेटौँडा अस्पताल सुविधा सम्पन्न हुँदै ५० बाट ३०० श्ययामा परिणत भएको र केही समयभित्रै ५०० श्ययाको अस्पतालको रुपमा सञ्चालन हुने जानकारी दिए ।
चिकित्सा क्षेत्रमा भविष्य बनाउन चाहने जिल्लाका विद्यार्थीले जिल्लाभित्रै अध्ययन गर्ने व्यवस्था गरिएको पौडेलले बताए । मुख्यमन्त्री पौडेलले खेलकूद, स्वास्थ्य र शिक्षाको क्षेत्रमा परिवर्तनकारी योजना कार्यान्वयनका क्रममा रहेको जानकारी दिए । बागमती प्रदेशलाई सडक सञ्जालले जोड्ने र सडक पक्की र स्थायी बनाउनेतर्फ सरकार लागेको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया