काठमाडौं । जारी विम्बेल्डन २०२१ अन्तर्गत महिलातर्फ सेमी फाइनलको समीकरण पूरा भएको छ।
मंगलवार सम्पन्न चार क्वार्टर फाइनल खेलबाट यस वर्षको अन्तिम ४ खेलाडी पक्का भएका हुन्। ‘सेन्टर कोर्ट’ र ‘कोर्ट १’ गरी दुई स्थानमा खेलिएका खेलहरुमा विश्व नम्बर १ एशली बार्टी, विश्व नम्बर २ अरिना साबालेनका, विश्व नम्बर ८ करोलिना प्लिस्कोभा र विश्व नम्बर २५ एन्जेलिक करबर सेमी फाइनल प्रवेश गरेका छन्।
क्वार्टर फाइनल खेलमा सेन्टर कोर्टमा बार्टीले टोमजानोभिचलाई ६-१, ६-३ को सोझो सेटमा पराजित गरेकी हुन्। त्यस्तै कोर्ट १ मा करबरले मुचोभालाई ६-२, ६-३ को सोझो सेटमा पराजित गरिन्।
सेन्टर कोर्टमा नै खेलिएको दोस्रो खेलमा साबालेनकाले जाबेयुरलाई ६-४, ६-३ को सेटमा पराजित गरिन् भने कोर्ट १ को दोस्रो खेलमा प्लिस्कोभाले गोलुभिचलाई ६-२,६-२ को सेटमा पराजित गरेकी हुन्।
सेमी फाइनल खेलहरूमा अब एशली बार्टी र एन्जेलिक करबर प्रतिस्पर्धा गर्नेछन् भने अरिना साबालेनका र करोलिना प्लिस्कोभा आमने सामने हुनेछन्। सेमी फाइनलका दुवै खेल बिहीवार ‘जुलाई ८’ तारिखमा खेलिने तालिका रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया