काठमाडौं । काठमाडौं, झापा र स्याङजाका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा ५२ जनालाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-६ आरुबारी सिमालटार चोक नजिक वाङचु शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानरगपालिका-६ बौद्ध सिमालटार बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय लाल बहादुर बिक लगायत २९ जनालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १४ लाख ५९ हजार ९ सय रुपैयाँ र २० बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
झापाको दमक नगरपालिका-८ बस्ने २९ वर्षीय थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थमा ११ जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७ लाख ४५ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
स्याङजामा भिरकोट नगरपालिका-२ ठाडो लाईनस्थित खेम बहादुर श्रेष्ठको विवेक होटलबाट तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत १२ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया