नेपाल वायु सेवा निगमले छनोट गरेका जनरल सेल्स एजेन्ट (जिएसए) हरुमध्ये कसैको पनि कम्पनीको मापदण्ड नपुगेको देखिएको छ ।
निगमले असार १८ (जुलाइ २) मा साउदी अरेबियाको जेद्घास्थित अल फाइजेलिया मोर्डन एभिएसन कम्पनी, भारतको नयाँ दिल्लीस्थित बर्ड ट्राभल्स प्राली र युनाइटेड अरब इमिरेट्सको दुबईस्थित अल नेबोडा
ट्राभल्स एण्ड टुरिजम एजेन्सी गरी तीनवटा कम्पनीलाई जिएसएका रुपमा छनोट गर्यो ।
यसमध्ये साउदी अरेबियाको अल फाइजेलिया मोर्डन एभिएसनलाई पेसेन्जरको लागि मात्र जिएसए छनोट गरिएको छ । अरु दुईलाई पेसेन्जर र कार्गो दुवैका लागि जिएसए छनोट गरिएको छ ।
निगमले छनोट गरेका कुनै पनि कम्पनीहरुको मापदण्ड पुगेको छैन । निगमले छनोट गरेको जिएसए कम्पनीमा कैफियत देखिएको छ ।
जिएसए भन्नाले कुनै देशमा वा सो देशमा उडान हुने क्षेत्रमा निगमको प्रतिनिधित्व गरी निगमको हवाई टिकट प्यासेन्जर वा मालसामान कार्गो व्यवसाय अथवा दुवै गर्ने उड्डयन व्यवसायी भन्ने बुझिन्छ।
जिएसए छनोट सम्बन्धी नियामावली २०७७ मा छनोट भएको जिएसएको मुलुकभित्रै केन्द्रीय कार्यालय बाहेक तीनवटा वितरणकेन्द्र हुनुपर्ने व्यवस्था छ । तर छनोट भएका जिएसएहरु कुनैको पनि आफ्नै देशमा वितरण केन्द्रहरुनै छैनन् । त्यस्तै, सो नियमावलीमा छनोट भएका एजेन्ट कम्पनीहरुको अधिकृत पूँजी पाँच लाख डलर भएको हुनुपर्ने व्यवस्था छ । तर निगमले छनोट गरेका जिएसए कम्पनी कसैको पनि पाँच लाख डलर अधिकृत पूँजी नपुगेको स्रोतको दाबी छ । स्रोतका अनुसार साउदी अरबको एजेन्टको आफ्नै मुलुकमा समेत एउटा पनि शाखा कार्यालय छैन ।
यसकारण मापदण्ड विपरित जिएसए छनोट
वर्षौ अघिदेखि भ्रष्टाचार गर्ने स्थायी थलोका रुपमा चिनिँदै आएको निगममा अहिले झन भ्रष्टाचार चरम हुँदै गएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जिएसए छनोट गर्दा ठूलो आर्थिक चलखेल गरेका कारण कमशल र अयोग्य जिएसए छनोट गरेको स्रोत बताउँछ । जिएसए छनोटमा झण्डै १० करोड रुपैयाँसम्मको चलखेल भएको स्रोतको दाबी छ ।
तर निगमका महाप्रबन्धक पौडेलले भने मापदण्ड पूरा भएका कम्पनीलाई मात्रै जिएसएमा नियुक्ति गरेको दाबी गरेका छन् । ‘‘एक प्रतिशत पनि मापदण्ड विपरित छैन,’’ महाप्रबन्धक पौडेलले लोकपथसँग भने,“जिएसए छनोटका लागि समिति बनेको र उक्त समितिले सबै मापदण्ड पूरा गरेको छ,सिफारिस कमिटीले जस्तो सिफारिस ग-यो,तीनैलाई छनोट गरेको हो ।”
सात करोड भ्रष्टाचार : सतर्कता केन्द्र
जिएसए छनोटमा मात्र होइन राष्ट्रिय सतर्कता केन्द्रले वायु सेवा निगममा विदेशमा तारे होटलको प्रवन्ध गर्ने क्रममा झण्डै सात करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको ठहर गरेको छ ।
केन्द्रले जहाजका ‘क्रु’ सदस्यहरुकोे बासका लागि तीनतारे होटललाई बिना प्रतिस्पर्धा तथा न्यूनतम कोटेशनको पनि माग नगरी सम्झौता गरेको ठहर गरेको थियो । त्यसका लागि छ करोड ३९ लाख ८२ हजार एक सय ८४ रुपैयाँमा गरेको सम्झौता अवैध रहेको ठहर केन्द्रको छ ।
निगमले जापानको होटल नारितालाई छनोट गर्दा खरिदसँग सम्बन्धित तोकिएको मूल्य समितिले मूल्यांकन गरी पेश गर्नुपर्ने व्यवस्था भएपनि निगमको अपरेशन निर्देशक दिपुराज ज्वारचन तथा उनका शाखाका अन्य कर्मचारीले मिलेमतोमा एकलौटी मूल्यांकन गरेर सम्झौता गरेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
यो पनि
यो पनि जिएसए छनोटमा आर्थिक चलखेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया