इङ्ल्यान्डद्वारा पाकिस्तान फराकिलो अन्तरले पराजित

काठमाडौं । इङ्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले पहिलो एकदिवसीय खेलमा ९ विकेटको फराकिलो अन्तरले पराजय भोगेको छ।

भर्खरै श्रीलंकासँग तीन एकदिवसीय खेलको शृंखला खेलेको इङ्ल्यान्डको टोलीमा केही खेलाडीलाई कोरोना पोजिटिभ देखिएपछि इङ्ल्यान्डले पाकिस्तान सिरिजका लागि आफ्नो पुरै स्क्वाड परिवर्तन गरेको थियो। सोही सिलसिलामा बिहीवार सम्पन्न पाकिस्तानविरुद्धको पहिलो एकदिवसीय खेलको लागि इङ्ल्यान्डले आफ्नो ५ खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यू गराएको थियो।

“पछिल्लो खेल भन्दा यस खेलमा हामीले ११ खेलाडी परिवर्तन गरेका छौं”, यस शृंखलाका लागि इंग्लिश कप्तान बेन स्टोक्सले टस जितेर बलिङ लिने बेला भनेका शब्द हुन्। पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानको शुरुवात निकै खराब रह्यो।

इंग्लिश बलर शाकिव महमूदले इनिङको पहिलो ओभरमै पाकिस्तानी ओपनर इमाम-उल-हक र कप्तान बाबर आजमलाई ० रनमा पविलियन फर्काएका थिए। अर्का ओपनर फखर जमानको सर्वाधिक ४७ रनको योगदानले पनि पाकिस्तानलाई ३५.२ ओभरमा मात्र १४१ रनमै समेट्यो। इङ्ल्यान्डका बलर महमूदले सर्वाधिक ४ विकेट लिंदा ओभरटनले २ विकेट लिन सफल भए।

जवाफी ब्याटिङमा १४२ रनको सामान्य लक्ष्य लिएर क्रिजमा उत्रेको इङ्ल्यान्डको टोलीले २१.५ ओभरमा मात्र १ विकेट गुमाएर आफ्नो लक्ष्य पूरा गर्न सफल भएको थियो। इंग्लिश ओपनर डाविड मलनले अविजित ६८ रनको योग्दान दिँदा डेब्यू ब्याट्सम्यान ज्याक क्रलीले अविजित ५८ रन बनाए। पाकिस्तानका लागि एकमात्र विकेट शहिन शाह अफ्रिदीले लिन सफल भएका थिए।

यस जितसँगै तीन खेलको शृंखलामा इङ्ल्यान्डले १-० को अग्रता लिएको छ। इंग्लिश तिव्र गतिका बलर शाकिव महमूद खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?