अस्ट्रेलियाका कप्तानसहित तीन खेलाडी घर फिर्ता

काठमाडौं, १४ चैत । बल टेम्परिङको विवादमा परेका अस्ट्रेलियाको क्रिकेट टोलीका कप्तानसहित तीन खेलाडीलाई घर फिर्ता पठाइएको छ ।कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र व्याट्समान क्यामरन बेनक्राफ्टलाई दक्षिण अफ्रिकाबाट घर फिर्ता पठाइएको हो ।स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरन बेनक्राफ्टको स्थानमा म्याथ्यू रेनशा, ग्लेन म्याक्सवेल र जो बर्नसलाई दक्षिण अफ्रिका पठाइने भएको छ । विकेटकिपर टिम पेनलाई अस्ट्रेलियाको कप्तान बनाइएको छ ।अष्ट्रेलियाको टिम दक्षिण अफ्रिकामा टेस्ट सिरिज खेलिरहेको छ । अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको चौथो टेस्ट शुक्रबारदेखि जोहानेसबर्गमा हुदैछ ।तेस्रो टेस्टमा अष्ट्रेलियाका ओपनर क्यामरुन बेनक्राफ्टले ‘बल टेम्परिङ’ अर्थात नियतबस बल बिगारेको भिडियो फुटेज सार्वजनिक भएपछि क्रिकेट टोली विवादमा फँसेको छ ।लगत्तै बेनक्राफ्टले आफ्नो गल्ती स्वीकार गरे भने स्मिथले यसबारे आफू पहिल्यै जानकार रहेको बताएका थिए । बल टेम्परिङको विषयले क्रिकेट अष्ट्रेलियाको कडा आलोचना भइरहेको छ ।क्रिकेट अस्ट्रेलियाका प्रमुख एक्जिक्युटिभ जेम्स सन्डरल्याण्डले स्मिथ, वार्नर र बेनक्राफ्टविरुद्ध कडा प्रतिवन्ध लाग्न सक्ने बताएका छन् । प्रशिक्षक ड्यारन लेहम्यान भने यस विवादमा सामेल नभएकाले पदमा कायम रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?