नेपाली रंगमञ्चमा महिला कलाकार, केही सास्ती केही मस्ती

काठमाडौं –पछिल्ला केही वर्षलाई हेर्ने हो भने नाटकको बजार अब काठमाडौंमा मात्र सीमित रहेन । मोफसलमा पनि नाटक घर निर्माण हुन थालेका छन् ।

निरन्तर जस्तो नाटक मञ्चन र नाटकबारे बहस हुन थालेका छन् । अझ अर्को कुरा नेपाली फिल्ममा पनि थिएटरकै पृष्ठभूमिबाट आएका कलाकारले पकड जमाएका छन् । फिल्म र नाटक एक अर्काका लागि परिपूरक जस्तै भएका छन् यतिबेला । तुलनात्मक रुपमा हेर्ने हो भने रंगमञ्चमा पुरुषको तुलनामा महिला कलाकारको संख्या केही न्यून छ । अर्को कुरा, नाटकमा धेरै उठाइने विषय महिलाका अधिकार पनि हुन् । नाटकको माहोल र नाटक रुचाउने दर्शक दिनानुदिन बढ्दै जानु रंगकर्म गर्नेका लागि मात्र नभएर नेपाली कला तथा वाङ्मय क्षेत्रका लागि पनि खुशीको कुरा हो ।

अझ नाटक काठमाडौंको थिएटरमा मात्र थन्किएका छैनन् । गाउँगाउँमा समेत नाटकका माध्यमबाट चेतना फैलाउने काम नाटककै माध्यमद्वारा गरिन्छ । यही क्षेत्रमा लामो समय बिताएका महिला कलाकारले नाटकलाई कसरी बुझेका छन् त? महिला अधिकार र हिंसाका विरुद्ध आवाज उठान भइरहेका रंगमञ्चमा के महिला हिंसा हुन्छ? यसमा सबैको आ–आफ्नै भोगाई छ/हुन्छ ।

एक दशकदेखि नाट्य क्षेत्रमा काम गर्दै आएकी पशुपति राईले यो क्षेत्रमा महिला हिंसा खासै नहुने भएपनि यो क्षेत्रमा रंगकर्मीका आफ्नै समस्या भएको बताउँछिन् । ‘मैले नाटकमा काम गरेरै जिविको चलाउँदै आएकी छु, नाटकमा पैसा नहुने भन्ने त होइन, तर धेरै आम्दानी गर्न सकिँदैन’, उनी भन्छिन्, ‘मेरो आफ्नो कुरा गर्ने हो भने नाटकबाट मैले पुग्दो कमाएकी छु, घर धान्न थोरै धेरै सहयोग भएको छ ।’ तर, नाटक क्षेत्रमा निरन्तर काम पनि भइनरहने कारणले गर्दा खासै कमाइ गर्न नसकिने उनी बताउँछिन् ।

नाटकमा पुरुष कलाकारको जति भूमिका छ, उत्तिकै भूमिका महिला कलाकारको पनि हुने र यो क्षेत्रमा महिला र पुरुषको भेदभाव कम हुने उनी बताउँछिन् । लामो समयदेखि नाट्य क्षेत्रमै सक्रिय भएर लागेकी रञ्जना ओलीले आफूले अन्य क्षेत्रमा काम गर्ने प्रयास गरेपनि घुम्दै फिर्दै यही क्षेत्रमा आएको बताउँछिन् । नाटकले आर्थिक रुपले माथि उठाउन नसकेपनि सन्तुष्टिका हिसाबले रंगमञ्चको दुनियाँ आफूलाई सहज लागेको बताउँछिन् ।

नाटकबाट आउने पैसाले सन्तुष्टि त हुँदैन तर यो क्षेत्रमा सधै उही काम दोहोराएर गरिराख्नु पर्दैन, रमाइलो पनि छ, काम पनि छ ।

‘नाटकबाट आउने पैसाले सन्तुष्टि त हुँदैन तर यो क्षेत्रमा सधै उही काम दोहोराएर गरिराख्नु पर्दैन, रमाइलो पनि छ, काम पनि छ’, रञ्जना थप्छिन्, ‘अहिले त नाटक नशाजस्तै भइसकेको छ, छोडेर अरु पैसा कमाउने क्षेत्रमा पनि जान सकिन्न, यसमै रमाइलो छ ।’ रञ्जना पहिले नाटकमा झुक्किएर आएको तर अहिले आफ्नो लगन र पेशा नै नाटक भएको बताउँछिन् ।

अझ नेपाली रंगमञ्च क्षेत्रमा उनले आफूलाई सुरक्षित महसुस पनि गर्ने गरेको बताउँछिन् । रंगमञ्च क्षेत्रमा धेरै महिला अधिकारकै कुरा उठिरहने भएको र यो रंगमञ्चमा महिलालाई दबाउन नखोजिने उनी बताउँछिन् । ‘कहिलेकाहीं त महिलाको विषयमा धेरै नै नाटक भयो कि भन्ने पनि लाग्छ, समाजमा अरु थुप्रै विषयवस्तु छन् नि, तर हामीले महिला हिंसाका कथामा धेरै नाटक निर्माण गरिसक्यौं’, रञ्जना थप्छिन्, ‘नेपाली रंगमञ्चमा अहिलेसम्म हिंसा भएको थाहा पाएकी छैन, यो क्षेत्रमा एकदमै विश्वास छ, पुरुष र महिला भनेर छुट्याइँदैन ।’ लामो समय रंगमञ्च क्षेत्रमा डटेर लागेकी लक्ष्मी बर्देवाका लागि पनि यो क्षेत्र सजिलो र चित्तबुझ्दो छ ।

उनले यस क्षेत्रमा कामको कदर पनि हुने भएकाले यो क्षेत्र रमाइलो लागेको लक्ष्मी बताउँछिन् । पछिल्लो समय भने उनी नाटक सँगसँगै फिल्ममा पनि सक्रियताका साथ देखिन थालेकी छिन् । ‘फिल्म क्षेत्रमा त महिला शोषणमा पर्छन् भन्ने धेरै सुनेकी छु, तर रंगमञ्च क्षेत्रमा त्यस्तो किन पनि हुँदैन भने यहाँ पारिश्रमिक र कामको हिसाबले सबै बराबर हुन्छन्’, उनी थप्छिन्, ‘पारिश्रमिक पनि धेरै हुँदैन, ‘धेरै पारिश्रमिक नभएपछि महिला कलाकारलाई थोरै दिने भन्ने नै हुँदैन ।’ ‘नाटकमा महिला र पुरुष भन्ने नै हुँदैन । सबै बराबर ।’, लक्ष्मी आफ्नो अनुभव सुनाउँछिन् ।

यो क्षेत्रमा पुरुषको तुलनामा महिला कम भएकाले काम पाउन भने सजिलो भएको धारणा राख्छिन् । ‘नाटकमा भन्दा फिल्ममा महिला कलाकारलाई हेपिन्छ रे भन्ने सुनेकी छु, तर मैले भोग्नुपरेको छैन, किनकि म पहिले नै कति काम गर्ने भन्ने सम्झौता गरेर जाने गरेकी छु’, उनी भन्छिन्, ‘अरु त त्यस्तै हो, नाटक गरेर सामान्य जीवन चलाउँछु भन्ने हो भने पुग्छ पनि ।’

अरु त त्यस्तै हो, नाटक गरेर सामान्य जीवन चलाउँछु भन्ने हो भने पुग्छ पनि ।

नाटकबाटै अभिनयमा होमिएकी रंगकर्मी इस्टु कार्कीले भने नाट्य क्षेत्रमा पनि हेपिनु परेको अनुभव साट्छिन् । यो क्षेत्रमा पुराना कलाकारले नयाँ कलाकारलाई हेप्न खोज्ने प्रवृत्ति भएको उनी बताउँछिन् । ‘हुन त सबै क्षेत्रमा कुनै न कुनै माध्यमबाट हिंसाका घटना घट्छन् नै, यो क्षेत्रमा पनि हिंसा नै नहुने भन्ने त होइन, त्यही हो, अलि बढी सुरक्षित होलान्’, ‘इस्टु भन्छिन्’, ‘म आफै त हिंसामा परेकी छैन तर मेरा केही साथीहरुलाई देखेकी छु ।’ उनी पनि यस क्षेत्रमा धेरै कमाउन नसकिए पनि थिएटरमा काम गर्दा आफूलाई सन्तुष्टि मिल्ने बताउँछिन् । ‘त्यही हो, यो क्षेत्रमा अलि बढी विश्वास छ, आत्मीयता छ, तर नाटक मात्रै गरेर जीवन धान्न अलि गाह्रै पर्छ, यो क्षेत्रमा हिंसा नै छैन भन्ने पनि होइन ।’, इष्टु भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?