सत्तारुढ नेकपा एमाले भित्रको आन्तरिक विवाद मिलाउन अहिले कार्यदल सक्रिय छ ।
गत जेठ १२ यता निष्क्रिय बनेको कार्यदल असार २१ गते सोमवारदेखि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीचको विवाद मिलाउन सक्रिए भएको छ ।
कार्यदलमा रहेका कतिपय सदस्यहरुको कुरा सुन्दा एमालेको विवाद अब टुंगिन लागिसकेको छ । दैनिक उनीहरु भन्छन् सहमति नजिक पुगिएको छ । केहीदिन भित्रै सबै विवाद टुंगिन्छ । तर ओली र नेपालबीच छलफल हुन्छ कुरा मिल्दैन ।
एमालेका नेताहरु पनि सहजै पार्टी विवाद मिल्ला भन्ने आशमा छैनन् किनकि आफ्नै पार्टीभित्र मिल्नका लागि केले छेकेको छ ? “पार्टी अध्यक्ष समेत रहेको हैसियतले विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्री ओलीको हो ।” एमाले नेता प्रेमल खनाल भन्छन् ।
एमालेमा ओली र नेपालबीच शक्ति बाँडफाँड, गत फागुन २३ यता ओलीले पार्टीमा गरेका एकलौटी निर्णय लगायतमा सहमति जुट्न नसकेको बताईएको छ।
विवाद मिलाउन कार्यदलमा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।
के के मा छ त मिल्न बाँकी ?
एक एमाले नेताका अनुसार नेपाल र ओलीको मिल्ति भएपनि अवस्था हेरेर सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दाको फैसला गरेपछि मात्रै हुनसक्ने बताउँछन् । त्यसअघि वार्ता अनि कार्यदलको नाममा दुवै पक्षमा अलमल मात्रै हुनसक्ने उनको भनाई छ । प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दाको बहस सकिएको छ । अर्को पेशी असार २८ गतेलाई तोकिएको छ । त्यही दिन निर्णय आउला या थप बहस होला त्यो त आफ्नो ठाउँमा छ । तर सर्वोच्चको फैसला पछि मात्रै नेपाल र ओली मिल्न सक्ने संभावना छ । एमालेका अर्का एक नेता भन्छन् ओलीले मिल्ने र मिलाउने भए सबै उनकै हातमा छ तुरुन्तै मिल्न सकिन्छ केले रोकेको छर ? तर स्वार्थका कारण मिलेको छैन । शुक्रबार बसेको कार्यदल बैठकमा पनि कार्यदलमै मिल्न सक्ने विषयलाई कसरी हुन्छ त्यही टुंग्याउने र नमिलेका विषयमा नेपाल र ओलीसँग छलफल गर्ने बारे कुराकानी भएको कार्यदलका सदस्य रघुजी पन्तले बताए । प्रधानमन्त्री ओलीले यदि भोली प्रतिनिधि सभा पुनः स्थापना भएको खण्डमा आफ्नै नेतृत्वको सरकारको निरन्तरता चाहेका छन् ।
त्यसका लागि नेपाल पक्षका २३ निवर्तमान सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको अडान छ । नेपालले पनि त्यसो हुँदा पार्टीका दुइ अध्यक्षको व्यवस्था गरिनुपर्ने,दुबै अध्यक्षको शक्ति बाँडफाँड हुनुपर्ने र फागुन २३ मा सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा ब्यूँताइदिएपछि त्यसपछि ओलीले पार्टीमा गरेका एकलौटी निर्णय फिर्ता लिनु पर्ने माग राखेका छन् ।
पार्टी एकताका लागि अरु विषयमा कार्यदलमा दुवै पक्ष लगभग मिलिसकेका छन् । बिगतमा एक व्यक्ति एक पदको नारा दिदै आएको नेपाल पक्षले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद दुवै नछोड्ने संकेत देखिएपछि दुइ अध्यक्षको बाटोमा जानुपर्ने माग गरेको हो । त्यसमा पनि दुबै अध्यक्षको शक्ति बाँडफाँडको आधारमा । ओली पार्टीलाई दुइ अध्यक्षात्मक प्रणालीमा लैजान सहमत भएका तर शक्ति बाँडफाँडका विषयमा सहमत भइसकेका छैनन् भने फागुन २३ यताका निर्णय सच्याउन पनि तयार भैसकेका छैनन् । मिल्न बाँकी कुरा एमालेको यहिनेर हो । कार्यदल व्यूँताइएपछि नेपाल र ओलीबीच भएका भेटवार्तामा पनि त्यही विषयमा सहमति हुन नसकेको हो । नेपाल आफ्नै अडानमा र ओली त्यसलाई पूरा गर्न तयार नहुँदा एमालेमा कुरा नमिलेको हो । वरिष्ठ नेता नेपाल पक्षका कार्यदल सदस्य पन्तले विवाद समाधानका लागि कार्यदलले मस्यौदा तयार पारिरहेको र त्यो मस्यौदा ओली र नेपाल समक्ष प्रस्तुत गरिने बताए । त्यसैगरी ओली पक्षका कार्यदल सदस्य एवं लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पनि पार्टी बिवादलाई टुंग्याउनेगरी कार्यदलमा छलफल भइरहेको बताए ।
एमालेमा आन्तरिक विबाद चर्किरहेकै बेला गत जेठ २ मा विवाद समाधानका लागि कार्यदल गठन गरिएको थियो । कार्यदलले काम गर्दे गरेको अवस्थामा प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन र संयोजक रावललाई १२ जेठमा पार्टी सदस्यबाट निष्कासन गरेपछि कार्यदल निष्क्रिय बनेको थियो । वरिष्ठ नेता नेपाल पक्षका २३ जना निवर्तमान सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि भोलि प्रतिनिधि सभा पुनःस्थापना भएमा आफ्नो पक्षमा बहुमत नपुग्ने र सत्ता गुम्न सक्ने आकलन गरेर ओलीले कार्यदललाई फेरि गत सोमवारबाट सक्रिय बनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया