कोपा अमेरिका २०२१: अन्तिम मिनेटको गोलमा कोलम्बियालाई तेस्रो स्थान

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत शनिवार भएको तेस्रो स्थानको खेलमा कोलम्बियाले पेरूलाई ३-२ गोलले पराजित गरेको छ।

ब्राजिलको राजधानी ब्राजिलियास्थित ‘नेशनल स्टेडियम’मा भएको खेलमा कोलम्बियाले इन्जुरी समयको अन्तिम मिनेटमा निर्णायक गोल गर्दै गत संस्करणको उप-विजेता पेरूलाई पराजित गरेको हो। पहिलो हाफको खेल अन्त्य हुँदासम्म पेरूले खेलमा १-० गोलको अग्रता लिएको थियो।

योशिमार योटुनको गोल मार्फत खेलमा अग्रता लिएको पेरूले दोस्रो हाफको शुरुवाती ५ मिनेटमै गोल खान पुग्यो। कोलम्बियाका कप्तान जुवान् क्वाडराडोको गोलमा कोलम्बियाले खेलमा बराबरी गोल गर्न सफल भएको थियो।

त्यसपछि खेलको ६६औं मिनेटमा कोलम्बियाले खेलमा अग्रता लियो। यस पटक भने कमिलो भारगासको पासमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाउन सफल भए। तर निकै नै प्रतिस्पर्धात्मक खेलको प्रदर्शनी देखाएको पेरूले खेलको ८२औं मिनेटमा गोल गर्दै खेल पुनः बराबरीमा पुर्यायो।

पेरुका जीयानलुका लापाडुलाले गोल गर्दा खेल बराबरीको अवस्थामा पुगेको थियो। निर्धारित ९० मिनेटको खेलसम्म दुवै टोलीले २-२ गोलको बराबरी खेल्दा खेलमा ३ मिनेटको इन्जुरी समय थप गरिएको थियो। सो दौरान कोलम्बियाले निर्णायक गोल गर्न सफल भयो।

कोलम्बियाका स्ट्राइकर लुइस मुरियेलको पासमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा खेलको निर्णायक गोल गर्दा कोलम्बियाले सन् २०२१ कोपा अमेरिकामा तेस्रो स्थान बनाउन सफल भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?