विम्बेल्डन २०२१: शापोभालोभविरुद्ध जोकोभिचको संघर्षपूर्ण जित, बेरेटिन्निसँग फाइनलमा भिड्ने

काठमाडौं । जारी विम्बेल्डन २०२१ अन्तर्गत विश्व नम्बर १ नोभाक जोकोभिच र विश्व नम्बर ७ म्याटियो बेरेटिन्नि पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन्।

शुक्रवार सम्पन्न दुई सेमी फाइनल खेलमा नोभाक जोकोभिचले डेनिस शापोभालोभ र म्याटियो बेरेटिन्निले हुबर्ट हुर्काजलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्। विश्व नम्बर १ जोकोभिचले अब आफ्नो २०औं ‘ग्रान्ड स्ल्याम’ उपाधिका लागि पहिलो पटक विम्बेल्डन फाइनल पुगेका बेरेटिन्निसँग प्रतिस्पर्धा गर्नेछन्।

विश्व नम्बर १० डेनिस शापोभालोभलाई पराजित गर्दा जोकोभिचलाई निकै सकस परेको थियो। यी दुई बिचको खेलमा जोकोभिचले ७-६ (७/३), ७-५ र ७-५ को सेटमा जित दर्ता गरेका थिए। २ घण्टा ४४ मिनेट लामो खेलमा शापोभालोभले निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए।

त्यस्तै अर्को सेमी फाइनल खेलमा इटालीका बेरेटिन्निले हंगेरीका हुर्काजमाथि ६-३, ६-०, ६-७ (३/७) र ६-४ को सेटमा जित प्राप्त गरेका थिए। अन्तिम १६ को खेलमा विश्व नम्बर २ ड्यानियल मेडभेडेभ र अन्तिम ८ मा रोजर फेडेरर जस्ता दिग्गज खेलाडीलाई पराजित गरेका विश्व नम्बर १४ हुर्काजले सेमी फाइनल खेलमा भने बेरेटिन्निविरुद्ध हार बेहोरे।

यस जितसँगै बेरेटिन्नि पछिल्लो ४५ वर्षमा विम्बेल्डन फाइनल पुग्ने पहिलो इटालियन खेलाडी बनेका छन्। यसै वर्ष ‘अष्ट्रेलियन ओपन’ र ‘फ्रेन्च ओपन’का उपाधि उचालेका जोकोभिच अब बेरेटिन्निलाई पराजित गर्दै एकै वर्षमा तेस्रो ‘ग्रान्ड स्ल्याम’ उपाधि जित्ने दाउमा आइतवार ‘सेन्टर कोर्ट’मा प्रवेश गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?