कपिलवस्तु, १४ चैत । महाराजगञ्ज नगरपालिकाको प्रयासमा नगर क्षेत्रमा रहेको महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रबाट २४ घण्टे स्वास्थ्य सेवा प्रवाह शुरु गरिएको छ ।तत्कालका लागि दुई श्यया सहित २४ घण्टे सेवा शुरु गरिएको र केही दिनमै १२ श्ययासहितको सेवा प्रदान गरिने उक्त नगरपालिकाका स्वास्थ्य संयोजक विद्याधर पाण्डेयले बताए ।उपचारका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटाई आफ्नै नगरपालिका क्षेत्रमै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका संवेदनशील भई लागि परेको नगरप्रमुख अब्दुल कलामखांले बताए ।चौबिसै घण्टा सेवा सञ्चालनका लागि विशेषज्ञ, दक्ष तालीम प्राप्त मेडिकल अधिकृत, स्टाफ, नर्स, अनमी, कार्यालय सहायक र स्विपर खटाइएको स्वास्थ्य संयोजक पाण्डेले बताए । सो स्वास्थ्य केन्द्रबाट एक्सरे सेवा, एम्बुलेन्स सेवा, ल्याब सेवा, निःशुल्क औषधोपचारलगायतका सेवा प्रवाह भइरहेको छ ।प्राथमिक स्वास्थ्य केन्द्र चौबिसै घण्टा चालु भएपछि आफूहरुलाई धेरै राहत महसुस भएको स्थानीयवासी निबर धुनियाले बताए । यसरी स्वास्थ्य केन्द्रको स्तरोन्नति भएसँगै स्वास्थ्य केन्द्रबाट बिरामी अब अन्यत्र जानु नपर्ने भएपछि नगरपालिका र आसपासका क्षेत्रका बासिन्दा निकै खुशी भएका छन् । चौबिसै घण्टा सेवा प्रवाह भएपछि महाराजगञ्ज आसपासका बासिन्दा अन्य ठाउँ जानुपर्ने बाध्यता हटेको छ ।यसअघि बिरामी छिमेकी मुलुक भारतको कोटीया बजार, सोहरतगढ, नेपालको चन्द्रौटा, कृष्णनगर र तौलिहवा जाने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया