गोरखाको दुर्गम गमलाडाँडा र ल्होमा मोबाइल सेवा सञ्चालन

काठमाडौं, १४ चैत ।  नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत्र ७ गते टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो । गमलाडाडाँमा राखिएको बीटीएस टावरवाट उक्त गाउँपालिकाका लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिम लगायत आसपासका अति दुर्गम गाउँका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएको टेलिकमले जनाएको छ । यस्तैगरी ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लि लगायतका गोर्खाका अति विकट उत्तरी क्षेत्रका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन् । यसका साथै मनास्लु क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु समेत मोबाइल सेवाको उपभोग गरी लाभान्वित हुन सक्ने टेलिकमले जनाएको छ । गोर्खा जिल्लाको विकट यी उत्तरी गाउँमा सोलार ब्याट्री राखेर टावर सञ्चालन गरिएको छ । यसैबीच टेलिकमले दुर्गम क्षेत्र ल्हो गाउँका ग्राहकका लागि ५ सय वटा सिम र गमलाडाँडाका ग्राहकका लागि ३ सय ५० वटा सिम गाउँमै लगेर निःशुल्क वितरण गर्ने कार्य पनि सम्पन्न गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?