२०६८ को जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो । केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ३ लाख ९५ हजार तीन सय नाघेको छ । नेपालमा दैनिक एक हजार एक सय जना मानिस थपिने गरेको विभागको तथ्यांक छ । नेपालमा यसै वर्ष जनगणना समेत हुँदैछ । तर कोरोना महामारीका कारण तत्काललाई जनगणना स्थगित गरिएको छ । सन् १९८७ जुन ११ तारिखमा विश्वको जनसंख्या पाँच अर्ब पुगेको अवसरमा भएको विश्व जनसंख्या सम्मेलनले यो दिवस घोषणा गरेको थियो । त्यसयता हरेक वर्ष जुन ११ तारिखमा जनसंख्या दिवस मनाउने गरिन्छ ।
‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने मूल नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।
जनगणनाको तयारी, जनसंख्याको समग्र वस्तुस्थिती र यसको व्यवस्थापनका विषयमा केन्द्रीय तथ्यांक विभागका निर्देशक तीर्थराज चौलागाँईसँग लोकपथका लागि रामजी बलामीले गरेको अन्तर्वाताको सम्पाददित अश :
कोरोना भाइरसका कारण जनगणना स्थगित भएको छ । अब कहिलेबाट शुरु हुन्छ ?
असार ८ गते जनगणना दिवस मनाउने तयारी गर्दै थियौं । तर कोरोनाले गर्दा स्थगन भएको छ। अब कतिबेला गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं । सबै जिल्लामा जनगणना कार्यालयहरु स्थापना गरिसकेका छौं । वर्षाको समय भएकाले पनि समस्या देखिएको छ। असोजको हाराहारीतिर गर्ने कि भन्ने प्रारम्भिक छलफल भईरहेको छ।
नेपालमा जनगणना शुरु भएको एक सय १० वर्ष भएको छ । जनगणना गर्ने उहिले र अहिलेको विधिमा कति फरक आएको छ ?
शुरु शुरुमा टाउको गनेर रुपमा जनगणना गरिन्थ्यो । तर अहिले विस्तृत गणना हुने गर्छ । त्यतिवेला थोरै प्रश्नावली हुन्थ्यो अहिले धेरै लामो हुन्छ । जनगणनाको नतिजाकै आधारमा संवैधानिक निकायहरुले योजना बनाउने र निर्णय गर्ने भएकाले अहिले विस्तृतरुपमा जनगणना हुने गरेको छ। संयुक्त राष्ट्रसंघ र तथ्यांक ऐन २०१५ अनुसार विधि निर्धारण हुन्छ ।
जनगणनाका लागि गणक, सुपरिवेक्षकको संख्या कति छन्, प्रक्रिया के छ ?
पहिले पहिले कर्मचारी र शिक्षकहरुलाई मात्रै खटाउँथ्यौं । तर यो पटक नयाँलाई भर्ना गरेका छौं । हामीले तालिम दिइरहेका थियौं । आठ हजार सुपरिवेक्षण र ३९ हजार गणकहरु छन् । त्यस्तै कार्यालय संचालनका लागि कर्मचारी खटाएका छौं । ठूलो स्रोत साधन र कर्मचारी प्रयोग भएको छ ।
केन्द्रिय तथ्यांक विभागले जनगणनाका अलावा अरु के कस्तो सर्वेक्षणहरु गर्छ ?
विभागले जनगणना र कृषि गणना प्रत्येक १०/१० वर्षमा गर्दै आएको छ । प्रत्येक पाँच वर्षमा औद्योगिक गणना गर्ने गर्छाैं । हामीले गर्ने नेपाल लिभिङ स्ट्याण्डर्ड सर्वे विश्वव्यापीरुपमा राम्रो मानिन्छ । यो तथ्यांक हामीले भन्दा विदेशीहरुले बढी प्रयोग गर्दै आएका छन् । यस्तै हामीले नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्वे पनि गर्दै आएका छौं । यस्तै गरी होटल, उद्योग, पर्यटन जस्ता विभिन्न क्षेत्रको सर्वेक्षण गर्दै आएका छौं । हामीले कपाल काट्नेहरुको समेत सर्वेक्षण गरेका छौं ।
आज (२५ असार) मा नेपालको जनसंख्या कति पुग्यो?
अहिलेको जनसंख्या हिसाव गर्दा तीन करोड तीन लाख ९५ हजार तीन सय जना पुगेको देखिन्छ । यो तथ्यांक क्षणभरमै परिवर्तन हुने गर्छ । हामीले दिनभरको तथ्यांकलाई वेबसाइटमा अप्डेट गर्ने गरेका छौं ।
नेपालको भौगोलिक, आर्थिक अवस्थालाई उपयुक्त जनसंख्या कति होला ? बढी भयो भने के कस्तो चुनौति देखा पर्ला ?
सन् २०११ को रिपोर्ट हेर्दा हामी प्रतिस्थापन लेवलमा छौं । दुई आमाबुवाले सरदरमा दुई जना मात्रै बच्चा जन्माएको देखिन्छ । त्यसकारण अब धेरै जनसंख्या थपिएला जस्तो देखिन्न् । जनसंख्या नै समस्या होला भन्ने लाग्दैन । तर यसको व्यवस्थापन चाहिँ सही भएको देखिदैन । यहाँ युवाको व्यवस्थापन हुन सकेको छैन । उनीहरुको क्षमताको सदुपयोग हुन सकेको छैन । विकासको लागि यो महत्वपूर्ण कुरा हो । युवाको शिक्षादेखि हरेक गतिविधिलाई सही दिशानिर्देश गर्नुपर्छ । मास्टर्स गरेका युवापुस्तालाई समेत बोल्ने, बस्ने, खाने तरिका थाहा छैन त्यसकारण शिक्षा लगायतका कुरामा व्यवस्थापन गर्नु ठूलो कुरा हो ।
आगामी १० वर्षमा नेपालको जनसंख्या कति पुग्ला ? विगतको आंकलन र वास्तविकताबीच कतिको मेल खान्छ ?
२०६८ मै हामीले २०३१ सम्मको अनुमान गरेका छौं । आगामी १० वर्ष अर्थात् २०८८ मा नेपालको जनसंख्या तीन करोड ३५ लाख ९७ हजार ३२ पुग्ने देखिन्छ । यो त्यो बेलाको असार ८ को हाराहारीको तथ्यांक हो । यो भन्दा अलिकति कम हुने सर्वेक्षणले देखाएको छ । मान्छेको मानसिकता, चेतना, बाहिर देशको असर लगायतका कारण यस्तो भएको हुनुपर्छ ।
नेपालको जन्मदर, मृत्युदर र बसाइसराइको दरलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
पहिले पहिले धेरै जन्मिने धेरै मर्ने हुन्थ्यो । २०१८ मै हेर्ने हो भने पनि जन्मदर ४० देखि ४५ सम्म र मृत्युदर २७ देखि २८ प्रतिहजार थियो । तर अहिले मृत्यु हुने दर २०१९ को सर्वे अनुसार सातको हाराहारीमा छ भने जन्मिने दर २० देखि २१ को हाराहारीमा छ । अहिले नेपालीको आयु बढेको छ। २०५८ मा ६० वर्षको हाराहारी थियो तर ०६८ ले ६६.६ देखायो । अहिले झन् बढेको हुनुपर्छ । बसाइसराइ चाहिँ अलि सुविधा भएको ठाउँमा सर्ने गरेको देखिन्छ । भावर प्रदेशतिर अलि प्रेसर देखिन्छ ।
नेपालमा एक दिनमा कति बच्चा जन्मिँदो रहेछ ?
२०६८ अनुसार एक दिनमा एक हजार ५० देखि ११ सयको हाराहारीमा मान्छे थपिने गरेका छन् । जन्म, मृत्यु र बसाइसराइ नियाल्दा ११ सयको हाराहारीमा थपिएको देखिन्छ । यसैको आधारमा सेकेन्ड सेकेन्डको हिसाव गर्न सकिन्छ ।
जनगणनामा गणक र उत्तरदाताको भूमिका कस्तो हुन्छ ?
जनगणनामा महत्वपूर्ण भूमिका गणक र उत्तरदाताको हुन्छ । उत्तरदाताहरुले आफ्नो ठाउँको विकासका लागि कहाँ के कस्तो अवस्थामा छन, जे छ त्यहि बताइ दिनुभयो भने राष्ट्रका लागि ठूलो दायित्व हो । भोलि योजना कार्यक्रम लैजादा त्यसले मूर्त रुप लिन्छ । गणकले पनि जे भन्यो त्यहि टिपिदिनु पर्याे । तथ्यांक कसैको पेवा नभई राष्ट्रको सम्पत्ती हो । व्यक्तिगत भन्दा पनि सामुहिक विकासका लागि यसले सहयोग गर्छ भन्ने कुरा बुझ्न जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया