भैँसीपालनबाट मासिक डेढ लाख आम्दानी

पाल्पा, १५ चैत – रामपुर–६, विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल भएका छन ।उनले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्छन । अर्याल करीव दश वर्षदेखि भैँसीपालन व्यवसायमा छन । उनले उत्पादन गरेको दूध स्थानीय रामपुर बजारमा खपत हुन्छ । पैसा कमाउनका लागि विदेश चाहर्नेका लागि स्वदेशमा कृषि, पशुपालन तथा अन्य व्यवसायबाट मेहनतअनुसार आम्दानी हुन्छ भन्ने उनी नमूना बनेका छन ।कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रमार्फत अर्यालले भैँसीपालन गर्दै आएका छन । भैंसीपालन केन्द्रमा भैँसीको दूधसँगै मुर्रा जातका भैँसीका पाडापाडीसमेत उत्पादन हुदैँ आएको उनले बताए ।केन्द्रमा अहिले २२ वटा मुर्रा भैँसी रहेका छन् । हाल नौवटा भैँसी र दुईवटा गाई दुहुना छन् । केन्द्रमा रहेको एउटा भैँसीले तीन पटकसम्म दिनमा दूध दिँदै आएको उनले बताए । पचास रोपनी जग्गामा भैँसीका लागि आवश्यकताअनुसार घाँस खेती गर्दै आएका अर्यालको भैँसीपालन केन्द्र यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ अहिले पाँच जनाले रोजगार पाएका छन् ।स्थानीय सीताकुण्ड दुग्ध सहकारी संस्था रामपुरले सहुलियत दरमा ऋण, भैँसी तथा गाईको बीमा, घाँसको बीउ तथा प्राविधिक सहयोग गर्दै आएको सहकारीका अध्यक्ष कमल भट्टराईले बताए । सहकारीको सहयोगकै कारण रामपुर क्षेत्रमा करीव १०० भन्दा बढी युवा पशुपालन व्यवसायमा संलग्न रहेका छन् । पछिल्ला वर्षमा रामपुरमा दूधको खपत हुँदै आएको छ । सहकारीले सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्न थालेपछि विपन्न समुदायका महिला तथा पुरुष पशुपालनमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?