बलबिर्नीको कप्तानी पारीमा आयरल्यान्डद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । आयरल्यान्डको भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो एकदिवसीय खेलमा ४३ रनको पराजाय भोगेको छ।

आयरल्यान्डको राजधानी डब्लीनमा भएको दोस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा मात्र ५ विकेट गुमाएर २९० रनको शानदार योगफल तयार गरेको थियो। आयरल्यान्डका लागि कप्तान एन्डी बलबिर्नीले सर्वाधिक १०२ रनको पारी खेलेका थिए। कप्तान बलबिर्नीले खेलमा २ छक्का र १० चौका प्रहार गर्दै शतकीय पारी खेलेका थिए।

त्यस्तै ह्यारी टेकटरले ७९ रनको योगदान गर्दा जर्ज डोक्रेलले ४५ रन जोडेका थिए। दक्षिण अफ्रिकाका लागि तिब्र गतिका बलर एन्डाइल फेहलुकवायोले २ विकेट लिंदा कगिसो रबाडा, केसव महाराज र तर्बाइज शम्सीले समान १-१ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा क्रिजमा उत्रेको दक्षिण अफ्रिकाको टोलीले खराब प्रदर्शन गर्यो। उसले ४८.३ ओभर खेल्दा सबै विकेट गुमाएर मात्र २४७ रन बनाउन सफल भयो। दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान जानेमन मलानले सर्वाधिक ८४ रन बनाउँदा रेसी भ्यान डर डुसेनले ४९ रन जोडेका थिए। आयरल्यान्डका लागि मार्क एडर, जोश लिटल र एन्डी मेकब्राइनले समान २-२ विकेट लिएका थिए।

यस ऐतिहासिक जितसँगै आयरल्यान्डले तीन एकदिवसीय खेलको शृंखलामा १-० को अग्रता लिएको छ। यसअघि पहिलो एकदिवसीय खेल वर्षाका कारण बिना कुनै नतिजा अन्त्य भएको थियो। दोस्रो खेलमा आफ्नो शतकीय पारीका लागि आइरिश कप्तान एन्डी बलबिर्नी ‘म्यान अफ दि म्याच’ घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?