काठमाडौं। बार्सिलोनाका लेजेण्ड तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी बार्सिलोनासँग ५ वर्षको सम्झौता नविकरण गर्न तयार भएका छन्।
यसै साता अर्जेन्टिनासँग आफ्नो पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधि उचालेका मेस्सी गत महिनाको अन्त्यसँगै फ्रि-एजेन्ट बनेका थिए। जुन ३० तारीखमा औपचारिक रूपमा बार्सिलोनासँग सम्झौता अन्त्य भएसंगै मेस्सी कुनै क्लबसँग आबद्ध थिएनन्।
संसारकै विभिन्न क्लबहरूबाट प्रस्ताव आए पनि अन्ततः मेस्सी बार्सिलोनामै रहने पक्का भएको छ। मेस्सी र बार्सिलोना बिच ५ वर्षे नयाँ सम्झौतामा सहमति भएको कुरा सार्वजनिक भएको छ।
मेस्सीले भर्खरै अर्जेन्टिनालाई २८ वर्षपछि आफ्नो पहिलो कोपा अमेरिका उपाधि जिताउन सफल भएका थिए। अर्जेन्टिनी कप्तान मेस्सीले सो दक्षिण अमेरिकी महादेशीय उपाधिको व्यक्तिगत विधातर्फ सबै उपाधि जितेका थिए। कोपा २०२१ को सर्वाधिक गोलकर्ता तथा सर्वाधिक असिस्टकर्ता मेस्सी नै भएका थिए। अझै उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडि पनि चुनिएका थिए।
बार्सासँग जुलाई १ मा सम्झौता अन्त्य हुनु अगाडी मेस्सी संसारकै सर्वाधिक पारिश्रमिक लिने खेलाडीको सूचीमा अग्र स्थानमा थिए। यद्यपि बार्सिलोना क्लबको कमजोर आर्थिक स्थिति हेरेर उनी ५० प्रतिशत पारिश्रमिक कटौतीमा पनि नयाँ सम्झौता नवीकरण गर्न सहमत भएका छन्।
मेस्सी र बार्सिलोनाको सम्बन्ध नङ र मासुको जस्तै भइसकेको छ, एक बिना अर्को सोच्न पनि गार्हो हुन्छ। सन् २००४ देखि ‘क्याम्प नाउ’बाट फुटबल खेल्दै आएका लियोनल मेस्सी सन् २०२६ सम्म ‘क्याम नाउ’मै बस्ने तयारीमा देखिएका छन्। यस सिजन बार्सिलोनाका सर्वाधिक गोलकर्ता मेस्सीसँगै बार्साबाट सर्जियो अगुवेरो, मेम्फिस डिपाए र एरिक गार्सिया पनि देखिनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया