शेरबहादुर ऐर / धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५, श्रीलंका सुकुम्बासी बस्तीमा बस्छन् खडक विक । नजिकै रहेको मोहना नदी कति खेर बस्तीमा पस्छ भन्ने डर हरेक वर्षातमा हुन्छ ।
बिहीवार घरमै बसेका उनी बस्तीमा मोहना नदी बस्तीमा पसेको देखे । बुधबार रातीदेखि परेको वर्षाका कारण मोहना नदीको सतह बढ्दै गयो । मनोहरा खोला मिसिएको मोहना नदीको बहाव सोही बस्तीमा पस्यो । मोहना नदी बस्तीमा पस्दा सो क्षेत्रका २८ घरपरिवार प्रभावित भए ।
श्रीलंकामा मुक्तकमैया र भूमिहीन घरपरिवारको बसोबास छ । धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत गेटाबाट झन्डै एक किलोमिटर पश्चिम रहेको यो गाउँ ०५७ पछि मात्रै ‘श्रीलंका’ बनेको हो । ‘होचो जमिनमा बस्ती बसाइएको छ । मोहनामा पानीको बहाव बढ्ने वित्तिकै गाउँमा बाढी पस्छ’ स्थानीय दिलबहादुर चौधरी भन्छन्, ‘बस्तीमा नदी पसे नजिकको विद्यालय वा गेटा मेडिकल कलेजको जग्गामा बस्नुपर्छ ।’
सोही बस्तीका शिरभोगे चौधरीले भने –‘मोहना नदी हरेक वर्ष वस्तीमा पस्छ । कुनै वर्ष एक÷दुई घर प्रभावित हुन्छन भने कुनै वर्ष वस्तीनै प्रभावित हुन्छ ।’
सो बस्तीमा डुबान भएपछि अहिले त्यस क्षेत्रका मानिसलाई नजिककै रहेको नवज्योती माध्यामिक विद्यालयमा राखिएको कैलाली प्रहरी प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।
बुधवार रातीको वर्षाले कैलालीको मोहनासंगै अन्य सहायक साना नदीहरुमा पनि बहाव बढेको थियो । प्रवक्ता विष्टले भने –‘नदीको बहाव सबैतिर बढेको थियो तर, मानविय क्षति कतै भएको छैन ।’ उनका अनुसार गोदावरी नगरपालिका वडा नम्बर वडा नम्बर ४ र १ का ३६ वटा घरमा डुबान भएको थियो ।
मोहना नदीको बहाव बढेपछि कैलालीको धनगढी र कञ्चनपुरको राजघाटका मानिसहरुलाई आवतजावतमा समस्या भएको थियो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशभरीमै सबैभन्दा बढी वर्षा धनगढीमा भएको छ । महाशाखाले दिएको जानकारी अनुसार धनगढीमा एक सय ३२ दशमलब छ मिलिमिटर वर्षा भएको थियो भने पोखरामा एक सय ३१ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै, प्रदेशका डडेल्धुरामा तीन दशमलब चार र डोटीमा शून्य दशमलब चार मिलिमिटर वर्षा भएको छ ।
मध्यम वर्षामा मोहना नदीको सतह दुई दशमलब २३ मिटर पुगेको थियो भने अन्य नदीहरुको सतह पनि बढेको थियो । मौसम फिल्ड कार्यालय अत्तरियाका कार्यालय प्रमुख सिंगल चौधरीले भने –‘विहान नदीको सतहहरु बढेपनि अहिले घट्दै गएको छ ।’
उनका अनुसार तराइमा पानी नपरेपनि कैलालीका पहाडी क्षेत्रमा अत्याधिक वर्षा हु“दा नदीको सतह बढेको थियो ।
जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ अनुसार कैलालीमा मोहना, कर्णाली, खुटिया, कान्द्रा, काँडा, गुलरा, गोदावरी तथा चुरे पहाडबाट दक्षिणतिर बग्ने कैयौं वर्षे खोलाहरुबाट बाढीको विपद हुने गरेको उल्लेख छ ।
कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर, भजनी नगरपालिका र कैलारी गाउ“पालिका बाढी तथा डुवानको उच्च जोखिममा रहेको छ भने चुरे गाउ“पालिका पहिरोको उच्च जोखिममा रहेको उल्लेख छ ।
हरेक वर्ष कटान
नदी कटान र डुबानको रोकथामको प्रभावकारी पहल हुन नसक्दा कैलालीमा वर्षेनी नदी कटानको समस्या बढ्दै गएको छ । नदी कटानको समस्या बढ्दै जा“दा वर्षेनी तटीय क्षेत्र आसपासको सयौं बिघा खेतीयोग्य जग्गा बगरमा परिणत हुने गरेको छ ।
चुरे क्षेत्रबाट निस्किने नदी तथा खोलामा वर्षेनी आउने भेलले लेदो माटो ढुंगा, बालुवा बगाएर ल्याएसँगै नदी तथा खोलाको सतह बढ्दा बाढी र डुबानको समस्या पनि बढ्दै गएको प्राविधिकको भनाइ छ । उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली, खुटिया, गोरीगंगा, कान्द्रा का“डा, शिवगंगा, घुराहा नदीले बढी कटान गर्ने गरेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्र हु“दै पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीको कटानको समस्या पनि छ ।
जलस्रोत तथा सि“चाइ विकास डिभिजन कार्यालयको अध्ययनअनुसार मोहना, कान्द्रा, पथरैया, का“डा, खुटिया, गौरीगंगालगायत ठूला नदीमा कटान र डुबानको समस्या बढ्दै गएको छ ।
मोहना नदीबाट भइरहेको कटानलाई रोक्न तटबन्धनको कार्यक्रम ल्याएपनि अघि बढ्न सकेको छैन । कञ्चनपुरको महाकाली र दोदा, कैलालीको, खुटिया र मोहना नदीमा तटबन्धनको काम गर्ने जिम्मा कञ्चनपुरमा रहेको जनताको तटबन्धन कार्यालयलाई छ । खुटिया र मोहना नदीमा अहिलेसम्म नदी नियन्त्रणसम्बन्धी प्रभावकारी काम हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का बासिन्दा हरेक वर्ष मोहना नदीको कटानबाट हैरान भइसकेका छन् । नदीले हरेक वर्ष धार परिवर्तन गर्दा स्थानीयले थप सास्ती र त्रास भोगिरहेका छन् । स्थानीय भन्छन्, ‘नदी नजिक खुला चौर तथा निर्माणाधीन पुलका कारण मोहना नदीले हरेक वर्ष धार परिवर्तन गरिरहेको छ । कतिबेला नदीको धार बस्तीतिर फर्किन्छ भन्ने डर भइरहन्छ ।’
चार/पाँच वर्षअघि कैलालीको धनगढी र कञ्चनपुरको राजघाट जोड्ने पुलको पश्चिममा रहेको पहिलो र दोस्रो पिल्लरको बीचबाट बग्दै आएको मोहना नदीको भंगालो अहिले धार परिवर्तन गर्दै तेस्रो पिल्लरसम्म आइपुगेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का स्थानीय दुर्गाप्रसाद ओझाले भने, ‘मोहना नदीले हरेक वर्ष सात÷आठ मिटर कटान गरिरहेको छ ।’ उनले चार वर्षको अवधिमा मोहना नदीले आठ/दश बिघा जग्गा कटान गरिसकेको बताए । यो क्रम रोकिएन भने शान्ति सामुदायिक वन र भर्खरै निर्माण गरिएको गौशाला पनि कटानमा पर्ने उनको भनाई छ ।
सीमा स्तम्भको सुरक्षामा चुनौती
मोहना नदीले सीमा क्षेत्रका कतिपय ठाउ“मा कटान गरेर आफ्नो पुरानो धार परिवर्तन गर्ने गरेको छ । सोका कारण ठाउ“ ठाउ“मा वर्षेनी हुने कटानका कारण सीमा स्तम्भ हराउने, भत्किने र पुरिने समस्या छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल—भारत सीमा सर्भेक्षण टोली नं ४ का प्रमुखको जिम्मेवारीमा रहेका सुदर्शनसिंह धामी मोहना नदीले कटान गरेर आफ्नो धार परिवर्तन गर्दा सीमा स्तम्भ भत्किने, पुरिने वा हराउने समस्या रहेको बताए ।
‘यो नदीले कटान गरेर धार परिवर्तन गरेको ठाउ“मा सीमा स्तम्भको सुरक्षा गर्न समस्या छ’, धामीले भने– ‘कैलालीको फूलबारी क्षेत्रमा मोहना नदीले आफ्नो धार परिवर्तन गरेकै कारण उत्पन्न सीमा विवाद टुगिन सकेको छैन ।’ नदीले पुरानो धारपरिवर्तन गरेकै कारण यो ठाउ“मा रहेको ७४२ नं को मुख्य सीमा स्तम्भ र ७४१/१ तथा ७४२/२ नं सहायक सीमा स्तम्भ हराएका छन् ।
फूलबारी क्षेत्रमा नदीले धार परिवर्तन गर्दा भारतको केही जग्गा नेपालतर्फ पर्न गएको बताइएको छ । विवाद देखिएको भूमि आफूहरुको भएको भन्दै नेपालीले उक्त भूमिलाई सामुदायिक वनका रुपमा उपयोग गरिरहेका छन् । धामीले भने, ‘फूलबारीको सीमा क्षेत्रमा सीमा विवादको टुंगो लाग्नसकेको छैन र जिल्लाका अरु सीमा क्षेत्रमा विवाद छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया