भारतको इण्डियन ओभरसिज बैंक लुटेर भागेका नेपाली सुर्खेतबाट पक्राउ

काठमाडौं, १६ चैत । भारतको चेन्नाईस्थित इण्डियन ओभरसिज बैंकमा सोमबार बिहान भएको लुटपाटमा संलग्न भएको आरोपमा सुर्खेतबाट एक नेपाली पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बराहताल गाउँपालिकाका कर्णबहादुर शाही छन् । उनलाई इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले सुर्खेतबाट पक्राउ गरेको छ ।उनी भारतमा बैंक चोरीपछि भागेर गृह जिल्ला आएको भन्दै एनसीबी मुम्बईले एनसीबी काठमाडौंलाई खबर गरेको थियो ।एनसीबी मुम्बईले एनसीबी काठमाडौंलाई खबर गरे लगत्तै प्रहरी परिचालित गरिएको थियो । अहिले शाहीलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखेर अनुसन्धान भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चर्तुवेदले बताए ।उनले प्रारम्भिक बयानका क्रममा आफू पनि त्यो घटनामा अन्यसँगै रहेको स्वीकारेको स्रोतको भनाइ छ । यद्यपि, घटनामा उनको संलग्नता बारे खुलाइएको छैन ।त्यस्तै एनसीबी नेपालकी प्रमुख किरण बज्राचार्यले पनि मुम्बई इन्टरपोलबाट आएको सूचनाको आधारमा उनलाई ‘लोकेट’ गरिएको बताइन् । सो घटनामा बैंकका दुई सेवाग्राही चेन्नाईकै मरिया एन्बालागान र यूएईकी सुचित्राको लकरबाट ४० लाख रुपैयाँ बराबरको नगरगहना र नगद चोरी भएको थियो ।यसैगरी भारतीय प्रहरीले बताए अनुसार उनीहरु झ्यालको फलामको रडलाई ‘ग्यास कटर’ले काटेर भित्र पसेका थिए । उनीहरुले सो ग्यासकै प्रयोगबाट लकर फुटाएरको समेत जनाइएको छ । यस घटनामा अन्य नेपालीको पनि संलग्नता रहेको प्रहरीको भनाइ छ ।नेपाल प्रहरी स्रोतका अनुसार भारतमा थप दुई जना नेपाललाई पक्राउ गरि सुधपुछ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?