नेपाल बिना नै एसियन च्याम्पियनशिपको तालिका सार्वजनिक

काठमाडौं। यसै वर्ष फिलिपिन्समा आयोजना हुन गइरहेको एसियन सिनियर महिला भलिबल च्याम्पियनशिपमा नेपालको उपस्थिति नरहने भएको छ।

एसियन भलिबल कन्फेडरेसन ‘एभीसी’ले सार्वजनिक गरेको खेल तालिकामा नेपालको नाम पर्न असफल रह्यो। यस अघि कोरोना महामारीको ‘रेड जोन’मा राखिएको नेपाल र भारत दुवैको नाम खेल तालिकामा पर्न असफल रहेको छ।

कोरोना माहामारीको कारण नै नेपाल र भारतलाई समावेश नगरिएको अनुमान गरिएको छ। गत असार १ गते देखि पूर्ण सुरक्षा मापदण्ड पूरा गरी नेपाल राष्ट्रिय महिला भलिबल टोलीको बन्द प्रशिक्षण भने जारी नै रहेको छ।

आगामी अगस्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्सको सान फर्नान्डो, पाम्पानामा आयोजना हुन गइरहेको सिनियर महिला भलिबल च्याम्पियनशिपमा अब मात्र ८ राष्ट्र बाँकि रहेका छन्। ‘एभीसी’ले सार्वजनिक गरेको खेल तालिकामा ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।

पुल ‘ए’मा आयोजक राष्ट्र फिलिपिन्स , काजकस्तान, चाइनिज ताइपेइ र उज्बेकिस्तान रहेका छन् भने पुल ‘बी’मा थाइल्यान्ड, दक्षिण कोरिया, ईरान र अस्ट्रेलिया रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?