बजेट परिवर्तन हुँदै, मौद्रिक नीति पनि प्रभावित

लोकपथ
154
Shares

काठमाडौं । राजनीतिक परिवर्तनसँगै आगामी आर्थिक वर्षको मौद्रिक नीति पनि केही प्रभावित हुने आँकलन गरिएको छ ।
नयाँ सरकार आएसँगै पुरानो सरकारकाले अध्ययादेश मार्फत ल्याएको बजेटका केही अंश परिवर्तन गरेर संसद्मा पेश गर्ने तयारी गरेको छ । बजेटमा केही परिवर्तन भएसँगै बजेटलाई सहयोग पुग्ने गरी ल्याइने मौद्रिक नीति पनि स्वतः प्रभावित हुने अर्थमन्त्रालयका कर्मचारीले आँकलन गरेका छन् ।

अर्थमन्त्रालय स्रोत भन्छ,‘‘बजेटका केही व्यवस्था परिवर्तन हुन्छन्,त्यसले मौद्रिक नीतिलाई स्वतःप्रभावित बनाउछ ।’’ जसले गर्दा मौद्रिक नीति सार्न सक्ने संभावना प्रवल छ । मन्त्रालय स्रोतका अनुसार नयाँ अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा विशेष चासो राखेका छन् । यसअघिको सरकारले ल्याएको बजेट आफु अनुकुल ल्याएको थियो । अब नयाँ सरकारले पनि त्यसका केही व्यवस्थाहरु संशोधन गरेर आफु अनुकुल बनाउने गरी बजेट संसद्मा लैजान लागेको हो । जुन व्यवस्थालाई मौद्रिक नीतिले सहयोग गरेको हुन्छ । मौद्रिक नीतिमा ती विषयहरु समेटिन पनि मौद्रिक नीति सार्ने संभावना बलियो भएको बताइन्छ । ‘‘बजेटमा भएका केही व्यवस्थामा छाटकाँट गर्ने संभावना छ,’’ स्रोतले भन्यो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको मस्यौदा तयार पारिसकेकेको छ । मौद्रिक नीतिले वित्तीय नीतिलाई सघाउनु पर्ने भएकोले परिवर्तन हुन सक्छ । परिवर्तन हुन सक्ने विषयलाई मौद्रिक नीतिमा समेट्ने गरी ल्याउन सकिने सम्भावना रहेको स्रोतको दाबी छ । यसका लागि राष्ट्र बैंकसँग छलफल गर्नुपर्ने मन्त्रालय स्रोतको भनाई छ ।

अर्थमन्त्री शर्माले शुक्रबार पनि यस विषयमा छलफल गरेको मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । ‘‘मन्त्री ज्युले अध्यादेशबाट आएको बजेटलाई सरकारले संसदमा प्रस्तुत गर्छ र सरकारले उपयुक्त निर्णय लिन्छ भन्नुभएको छ,’’ प्रवक्ता आचार्यले भने । सरकारका यीनै कामका आधारमा राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने उनको भनाई छ । यसअघि सरकारले अध्ययादेशमार्फत सार्वजनिक गरेको बजेटमा केही नीतिगत परिर्वन गरिने प्रवक्ता आचार्यको भनाई छ । ‘‘यसअघिको सरकारले गरेका व्यवस्थाहरुमा नीतिगत रुपमा पक्कै पनि केही संशोधन हुन्छन्,’’उनले लोकपथसँग भने ।

मौद्रिक नीति समयमै आउने :

सरकारले जेठ १५ मा बजेट सार्वजनिक गरेपछि राष्ट्र बैकले सरकारको बजेटलाई सहयोग पुग्ने गरी असार मसान्तसम्ममा मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था छ । गत वर्ष राष्ट्र बैंकले साउन २ मा मौद्रिक नीति सार्वजनिक गरेको थियो । यसपटक पनि राष्ट्र बैंकले मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले मौद्रिक नीतिमा चासो राख्दै मौद्रिक नीति सार्ने विषयमा छलफल गरेपनि मौद्रिक नीतिको समय सीमा नसार्ने भएको छ ।
बजेटका व्यवस्थामा केही संशोधन भएपनि राष्ट्र बैंकले भने निर्धारित समयमा नै मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको हो । ‘‘मौद्रिक नीतिलाई हल्ट गरेर पन्ध्र दिन वा एक महिनामा बजेटको खाका आउला भनेर पर्खिने कुरा आउँदैन,’’ राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेले भने । सरकारले बजेटमा भएका केही व्यवस्थाहरु परिवर्तन भए भने राष्ट्र बैंकले तत्कालका लागि सर्कुलर जारी गरी ती परिवर्तन भएका व्यवस्थालाई समेट्ने उनले बताए ।

राष्ट्र बैंकले हरेक तीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्दै आएको छ । पहिलो तीन महिनाको समिक्षामार्फत पनि बजेटमा परिवर्तन भएका व्यवस्था समेटिन सक्ने सह–प्रवक्ता पोखरेलको भनाई छ । ‘‘यदि सरकारले पोलिसी डाइभर्ट गरिहालेछ भने पनि हामी सर्कुलर वा क्वाटर्ली रिभ्युमार्फत संबोधन गछौँ ।’’ सह–प्रवक्ता पोखरेलले भने ।

बजेटमा भएका व्यवस्थाहरु मौद्रिक नीतिको त्रैमासिक समिक्षाले पनि समेट्न सक्ने भएका कारण बजेटमा के परिवर्तन हुन्छ भनेर महिनौ कुर्नुपर्ने अवस्था नभएको राष्ट्र बैंकको तर्क छ । गत वर्ष पनि साउन लागेपछि मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले पूर्व निर्धारित समयमा नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?