मोइन अलीको शानदार प्रदर्शनीमा इङ्ल्यान्ड विजयी

काठमाडौं। इङ्ल्यान्ड र पाकिस्तानबिचको दोस्रो टी-ट्वेन्टी खेलमा घरेलु टोली इङ्ल्यान्डले ४५ रनको जित दर्ता गरेको छ।

इङ्ल्यान्डको लिड्समा खेलिएको दोस्रो टी-ट्वेन्टी खेलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङको निम्तो पाएको इंग्लिश टोलीले शानदार प्रदर्शनी देखायो।

इङ्ल्यान्डले १९५ ओभरमा सबै विकेट गुमाएर २०० रनको विशाल योगफल तयार गर्न सफल भएको थियो। इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ५९ रनको सर्वाधिक योगदान दिए। त्यस्तै लियाम लिभिङस्टोनले ३८ रन बनाउँदा अलराउन्डर मोइन अलीले १६ बलमा ३६ रन बनाउन सफल भए। पाकिस्तानका सबै बलर महँगो सावित हुँदा मोहम्मद हसनाइनले सर्वाधिक ३ विकेट बटुले। त्यस्तै हरिस राउफ र इमाद वासिमले २-२ विकेट लिन सफल भएका थिए।

जवाफी ब्याटिङमा २०१ रनको विशाल लक्ष्य लिएर क्रिजमा उत्रेका पाकिस्तानका ओपनरद्वय कप्तान बाबर आजम तथा उप-कप्तान मोहम्मद रिजवानले राम्रो शुरुवात गरेका थिए। रिजवानले ३७ रन बनाउँदा बाबरले २२ रन बनाए। अन्य ब्याट्सम्यान सस्तोमै पविलियन फर्किँदा शादाव खानले अविजित ३६ रनको पारी खेलेका थिए।

इङ्ल्यान्डका लागि तिब्र गतिका बलर शकिव महमूदले सर्वाधिक ३ विकेट लिंदा स्पिनरद्वय मोइन अली र आदिल राशिदले २-२ विकेट लिन सफल भए। ब्याटिङ र बलिङ दुवैमा शानदार योगदान दिएका मोइन खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए। यस जितसँगै इङ्ल्यान्डले तीन टी-ट्वेन्टी खेलको शृंखलामा १-१ को बराबरी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?