वासिंगटन, १७ चैत । अमेरिकाले प्रवेशाज्ञा (भिसा) दिनका लागि नयाँ नीति ल्याउने भएको छ ।ट्रम्प प्रशासनले अमेरिकाका लागि प्रवेशाज्ञा पाउन निवेदन दिने लगभग सबैको सामाजिक सञ्जालमा प्रेषित विगतका विवरणको अभिलेख संकलन गर्नेगरी नयाँ नीति प्रस्ताव गरेको छ ।अमेरिकी विदेश मन्त्रालयले गरेको नयाँ प्रस्ताव अनुसार प्रवेशाज्ञा अर्थात् भिसाका लागि आवेदन दिने सबैले आफ्ना ट्विटर र फेसबुक खाताका विवरण उपलब्ध गराउनुपर्ने छ ।पछिल्लो पाँच वर्षमा प्रयोग गरेका सामाजिक सञ्जालका खाताहरूका बारेमा पनि जानकारी उपलब्ध गराउनुपर्नेछ । नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइए त्यसले १ करोड ४७ लाखभन्दा बढी मानिसलाई प्रभावित पार्ने बताइएको छ ।यसरी संकलन गरिएका सूचनाका आधारमा आप्रवासी वा गैरअप्रवासी प्रवेशाज्ञाको निवेदन दिएका व्यक्तिहरू अमेरिका प्रवेशका लागि योग्य रहेको वा नरहेको भन्ने निर्धारण गरिनेछ ।निवेदकहरूलाई पाँच वर्षसम्म प्रयोग गरेका टेलिफोन नम्बरहरू, इमेल ठेगानाहरू र यात्रा इतिहाससम्बन्धी विवरण पनि उपलब्ध गराउन भनिनेछ । अब अमेरिका जान आवेदन दिनेहरुले कुनै देशले देशनिकाला गरेको वा नगरेको, कुनै नातागोता आतंकवादी गतिविधिमा संलग्न भए वा नभएको लगायतका जानकारी समेत गराउनुपर्नेछ ।अमेरिकाले प्रवेशाज्ञा विना नै यात्रा गर्न अनुमति दिएका देशहरू बेलायत, क्यानडा, फ्रान्स र जर्मनीका नागरिकलाई भने यो प्रस्तावले असर गर्नेछैन । यद्यपि भिसा लगाएर मात्रै अमेरिका जान पाउने देशका नागरिक यो व्यवस्थाबाट प्रभावित हुनेछन् ।गत वर्षको मे महिनामा ल्याइएका नियमहरू अन्तर्गत परिचय पुष्टि गर्नका लागि आवश्यक परे मानिसहरूका सामाजिक सञ्जालका ‘ह्यान्डल’ हरूका जानकारी माग्न भनिएको अधिकारीहरूले बताएका थिए ।यो अवधारणालाई अफिस अफ म्यानेजेमेन्ट एण्ड बजेटले अनुमोदन गर्नुअघि सर्वसाधारणले दुई महिना आफ्ना प्रतिक्रिया दिन पाउनेछन् ।नागरिक स्वतन्त्रता समूहहरूले यो नीतिलाई गोपनीयतामाथिको अतिक्रमण भन्दै यसले अभिव्यक्ति स्वतन्त्रतामा क्षति पु¥याउने भन्दै निन्दा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया