‘ओली बालुवाटारबाट निस्किँदा रुन्चे मुख लगाउँछन् भन्नेहरुलाई जवाफ हो यो’ (भिडियोसहित)

लोकपथ
1.1k
Shares

नेकपा एमाले सरकारबाट बाहिरिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीचको बिवादले प्रतिनिधि सभाको सबै भन्दा ठूलो दल बिग्रहको अवस्थामा छ । दोस्रो पुस्ताका नेताहरु बिवाद मिलाउन लागि परेपनि सफल भने हुन सकेका छैनन् । एमाले भित्रको आन्तरिक द्वन्द्वकै कारण नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पुगेको छ । एमालेभित्रको रडाकोमा केन्द्रीत रहेर लोकपथका लागि रामेश्वर सापकोटाले एमाले नेता एवं सांसद महेश बस्नेतसँग गरेको कुराकानीको सम्पादित अंशः

पाँच वर्ष प्रतिपक्षमा बस्ने जनमत पाएको कांग्रेस एमाले भित्रैको आन्तरिक विवादले सत्तामा पुग्यो । किन ?
एमालेलाई ठूलो मेहनतका साथ हाम्रा अग्रज नेताहरुले बिभिन्न आरोह अवरोहका साथ अघि बढाए । विश्वमा कम्यूनिष्ट पार्टीहरु रक्षात्मक बनिरहेको अवस्थामा नेपालमा एमाले लोकप्रिय बन्यो । पार्टीको नवौं महाधिवेशनबाट अध्यक्ष भएपछि केपी शर्मा ओलीले पार्टीभित्र सहमति र सहकार्यलाई जोड दिदै आउनु भयो । तर वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले पार्टीमा गुटबन्दी गर्न थाल्नु भयो । पार्टीको बिधि र पद्धतिको वेवास्ता गर्नुभयो ।

नेपाल– खनालले त अध्यक्ष ओलीले सरकार संचालन गर्दा पार्टी र सरकार दुबैमा ओलीले स्वेच्छाचारिता देखाएको आरोप लगाएका छन् । यथार्थ के हो ?

त्यो आरोप गलत हो । नेपाल–खनालले आफ्नो कुण्ठा उजागार गर्ने काम मात्रै गरेका हुन् । अहिले कित्ता क्लिएर भएको छ । अब एमाले नयाँ गतिका साथ अघि बढ्छ । शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई आजको केन्द्रीय कमिटी बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको छ । उहाँहरुलाई हामीले सुध्रिने मौका दिएका छौ । स्पष्टीकरण चित्तबुझ्दो नआए एमालेले कारवाही गर्छ । जनताको जनमतमा एमालेलाई हराउन नसकेपछि अदालतको परमादेशबाट एमालेलाई हराइएको छ । हामी जनतामा जान्छौ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बनेको प्रधानन्त्रीलाई प्रतिनिधि सभाका सांसदले स्वतन्त्र रुपमा मतदान गर्न पाउने भन्ने ब्याख्या सर्वाेच्चले गरेको छ । अनि तपाईहरु फेरि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने आफ्ना २२ सांसदलाई कारवाही गर्ने भनिरहनु भएको छ । अलि मिलेन कि ?

सर्वाेच्चको फैसलाप्रति हामीले गम्भीर प्रश्न उठाएका छौं । यद्यपि हामीले बिमती प्रकट गर्दा गर्दै त्यसलाई कार्यान्वयन गरिसकेका छौ । सर्वाेच्चको फैसलाले भोलि कुनै पनि पार्टी विभाजन हुनसक्ने देखि लिएर धेरै विकृति/विसङ्गती घुसाएको छ ।

अध्यक्ष ओली पक्षका आठ जना सांसद पनि त असन्तुष्ट रहेछन । उनीहरुले देउवालाई विश्वासको मत किन दिए ?
पार्टी भनेको नीति,नियम र पद्धतिमा चल्ने हो । उहाँहरु लोभ लालचमा परेर पैसा प्राप्तिका लागि उता लाग्नुभयो । राष्ट्रपतिलाई महाअभियोग लगाउने चलखेल गर्दै हुनुहुन्छ भन्ने सुनिएको छ । हामी त्यसलाई सफल हुन दिदैनौ ।

तपाइँहरुले असार २९ गते ओली प्रधानमन्त्री ओली बालुवाटारबाट बाहिरिदा ठूलो ताम झाम गरेर बालकोट निवासमा भित्र्याउनुभयो । यसको आलोचना भयो । भोली के सबैजना प्रधानमन्त्रीबाट हटेपछि यसैगरी तामझाम गरेर बालुवाटार छोड्नु पर्ने हो र ?
हामीले यसलाई नजीरका रुपमा स्थापित गर्न खोजेका होइनौ । ओली सरकारमा हुँदा संविधान मिचियो,तानाशाही काम भयो,केपी ओली बालुवाटारबाट निस्किदा रुन्चे मुख लगाउँछन भन्नेहरुलाई जवाफ हो यो । ओली एक्लो छैनन् । एमाले एक्लो छैन भनेर सन्देश दिन खोजेका हौं । लाखौ जनताको साथ ओलीलाई छ भन्ने सन्देश हो यो ।

युथ फोर्स जन्माएर फेरि पार्टीभित्रै मुठभेठको शुरुवात गर्नुभयो भन्ने आरोप छ नि तपाइलाई ?

त्यो गलत हो । हामीले बिकृति, बिसङ्गती र भोली एमालेका नेता कार्यकर्तामाथि हुनसक्ने षडयन्त्र विरुद्ध जुझारु र प्रतिरोधी अभियान चलाउन आवश्यक छ भनेर युथ फोर्स गठन गरेका हौ । मुठभेडका निम्ति होइन ।

ओली प्रधानमन्त्री रहँदा कुटनीतिक सम्बन्ध पनि सन्तुलित भएन भन्ने छ । ओली पहिला उत्तरी छिमेकीतिर,पछि भारतका गुप्तचर प्रमुखले सुटुक्क भेटेपछि दक्षिणतिर लागेको आरोप छ । के भन्नुहुन्छ ?
त्यो गलत हो । उहाँकै पालामा सन्तुलित कुटनीति रह्यो । सबैतिर ओलीको प्रशसां भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?