सन्दीपले ‘द हन्ड्रेड’ गुमाउने निश्चित

काठमाडौं। नेपाली क्रिकेट टोलीका लेग स्पिनर तथा ग्लोबल आइकन सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ प्रतियोगिता गुमाउने निश्चित भएको छ।

सन्दीपले बेलायत जान प्रयोग गरेका टियर ५ भिसाले द हन्ड्रेड खेल्न नपाउने भएपछि स्वदेश फर्किन बाध्य भएका छन्। जुलाई २१ देखि अगस्ट २१ सम्म आयोजना हुने प्रतियोगितामा सन्दीप ओभल इनभिन्सिभल्स टोलीमा सम्मिलित थिए।

गत असार २४ गते नै इङ्ल्यान्ड पुगेर क्वारेन्टाइनमा बसिरहेका सन्दीपलाई अन्तिम समयमा प्रतियोगिता खेल्नबाट प्रतिबन्धित गरिएको छ। यस विषयमा असन्तुष्टि व्यक्त गर्दै सन्दीपले आफ्नो सामाजिक संजालमा दुखेसो समेत व्यक्त गरेका छन्।

भिसाको कारण द हन्ड्रेड प्रतियोगिता खेल्न नपाएपछि सन्दीप आज भोलिमै स्वदेश फर्किने निश्चित भएको छ। भिसाकै कारण सन्दीपले अघिल्लो महिना भाइटालिटी टी-ट्वेन्टी ब्लास्ट प्रतियोगिता गुमाएका थिए।

क्रिकेट इतिहासमै पहिलो पटक आयोजना हुन लागेको द हन्ड्रेडमा सन्दीप ओभल इनभिन्सिभल्समा आबद्ध थिए। सिंगल राउण्ड रबिन फर्म्याटमा खेलिने सो प्रतियोगितामा जम्मा ८ टोली रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?