शंकर बिसीलाई प्रश्नः यो जातीयताको कुरा कहाँबाट आयो?

काठमाडौं, १८ चैत – केही दिनदेखि शंकर बिसी विवादमा छन् । भुकुटीमण्डपमा आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता स्वयम् बिसी समेत आवद्ध संस्था राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा पत्रकारसँग सामान्य भनाभन भएको भन्ने सानो भिडियो फुटेज बाहिर आएपछि उनी तनावमा परेका हुन् ।भिडियोको फुटेजमा उनले थर्काएका छन् । तर उनले एकतर्फी भिडियो बाहिर आएको र क्यामेराम्यानले घुरेर हेरेकाले आफूलाई रिस उठेको शंकर बताउँछन् ।तर भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा शंकर बिसीलाई धेरैले गाली गरे । केहीले सञ्जालमै यो जात, र त्यो जात भन्दै कमेन्ट पनि गर्न भ्याए ।त्यतिमात्र होइन, बिसीले एक अन्तर्वार्तामा आफूलाई जातका आधारमा जोडेर कमेन्ट गरेको र ती कमेन्टले साह्रै दुःखी बनाएको समेत बताए ।सामान्य कुरा एकाएक जातीय मुद्दा बनिसकेपछि हामीले उनलाई सोध्यौं, ‘किन जातीय विवाद आयो?’उनले भने, ‘म जातीय विवादमा आएको होइन, तर अरुले मलाई जातसँग जोडेर हेर्दा दुःख लागेको हो ।’चार हजारभन्दा धेरै गीतका भिडियोमा मोडलिङ गरिसकेका शंकर बिसी यसअघि पनि बेलाबेलामा विवादमा नआएका होइनन् । तर उनले आफूले कुनै बेला पनि मन नदुखेको बताउँछन् । किनकि आफ्नो व्यक्तिगत कारणले गर्दा सबै दलित वर्गलाई नै असर पार्ने गरी आरोप आउँदा दुःख लागेको उनी बताउँछन् ।‘जातीयताको कुरा मेरो कुरा मात्र होइन, यसले मलाई मात्र होइन कि, अरु ५५ लाख दलितलाई पनि असर पार्छ’, उनी अगाडि थप्छन्, ‘मलाई व्यक्तिगत रुपमा कसैले गाली गर्दा दुःख नै लाग्दैन, बरु कसैले भुँडी ठूलो छ भनोस्, यस्तो छ भनोस्, तर अरु समुदायलाई असर पार्ने काम किन गर्ने?’साथै उनले नेपाली समाज आफूले परिवर्तन भइसके होला भनेर बुझेपनि त्यस्तो नभएको धारणा राख्छन् । अहिलेको समयमा जातलाई लिएर कोही मान्छेलाई होच्याउन खोज्नु एकदमै गलत भएको उनको भनाई छ ।‘बरु असी काटेका बूढाबूढीले यस्ता कुरा बुझ्नुभएको छ तर झन् शिक्षित र बुझेको भनेको वर्गले नै यस्तो जात र उस्तो जात भन्दै कुरा काट्नुभएको छ’, उनी भन्छन्,‘कतिले त यस्ता कमेन्ट गर्नुभएको छ भने सम्झेर मलाई रातभरी निद्रा लागेको छैन ।’तर, उनी आफूले बोलेका कुराले सामाजिक द्वन्द्व निम्तिने हो कि भन्ने कुरामा पनि अत्यन्तै संवेदनशील भएको बताउँछन् । यदि आफूले यसबारेमा बहस नै गर्ने हो भने पनि दलित र गैरदलितले आफूलाई साथ दिनेमा विश्वास गर्छन् उनी ।‘हामी सबै नेपाली हौं, मिलेर बस्नुपर्छ, मैले जातीयताको कुरा जोड्न खोजेकै हैन, मेरो कारणले पूरै जातलाई आरोप लगाउँदा कता कता मलाई दुखेको हो’, बिसी थप्छन्, ‘मैले सकभर कसैलाई नराम्रो भन्नुहुन्न भन्नेमा म एकदमै सचेत छु ।’व्यक्तिगत रुपमा उडाउँदा खासै फरक नपर्ने तर जातका आधारमा कुरा गर्दा धेरै फरक पर्ने शंकर बताउँछन् । उनी भन्छन्, ‘त्यो भिडियो एकतर्फी आयो, खासमा यत्रो भाइरल नै हुनुपर्ने केही थिएन ।’तर, उनले जुन परिवर्तन समाजमा आएको होला भनेर सोचेका थिए, त्यो परिवर्तनको आभास नपाएको शंकर बताउँछन् । ‘जातको आधारमा कसैले कसैलाई हेप्नु हुँदैन ।’, उनी थप्छन् ।यसअघि पनि शंकर बिसी विवादमा तानिएका थिए । दोस्रो बिहे गर्दाताका पनि उनलाई धेरैले उनलाई गाली गरेका थिए । धेरै लोकगीतमा अश्लीलता भित्रियो भनेर पनि उनलाई दर्शकले गाली गरेका थिए ।‘मलाई गाली गर्दा खासै कुनै गुनासो नै छैन, तर मेरो कारणले अरु वर्गलाई गाली गर्नुभएन’, उनी भन्छन्, ‘हो, मेरो बिहेको कुरालाई लिएर पनि केही दर्शकले गाली गर्नुभएको होला, तर त्यसलाई मैले सामान्य रुपमा लिन्छु ।’उनी हामी सबै नेपाली मिलेर बस्नुपर्ने कुरामा जोड दिन्छन् । किनकि सामाजिक सञ्जाल हेर्दा यस्तो लाग्छ कि, नेपालीबीच आन्तरिक द्वन्द्व जहिले पनि हुन सक्छ । त्यसैले पनि सबै संयमित हुनुपर्नेमा उनी जोड दिन्छन् । ‘मलाई दिनकै हजारौं फोन आइरहेका छन्, दर्शकको माया पाइरहेको छु, अहिले हल्का सहज महसुस गरेको छु ।’, उनी सुनाउँछन् ।मादल, गितार, बाँसुरी समेत राम्रोसँग बजाउने खुबी भएका शंकर बिसी सानो पर्दामा धेरै सक्रिय देखिए पनि केही फिल्ममा पनि देखिएका छन् । फिल्म तथा लोकगीतको भिडियोमा बढी सक्रिय बिसीलाई दर्शकले सानो पर्दाका नायक समेत भन्ने गर्छन् । निर्देशन र मोडल त एकातिर छँदै छ, उनी मादल, गितार र बाँसुरी पनि राम्रो बजाउने खुबी भएको बताउँछन् शंकर ।खुबीको हिसाबले दर्शकको प्यारा बनेका शंकर अहिले जातीयताको कुरालाई भने सामान्य रुपमा लिएनन् उनले । कमेन्ट गर्नेले उनको खुबी र व्यक्तिलाई भन्दा पनि जातसँग जोडेर कमेन्ट गरेको उनी बताउँछन् । कलाले चिनिनु तर जातीयताका आधारमा हेपिनु उनलाई खासै चित्त बुझेन शायद ।त्यसैले उनी आफूलाई कमेन्ट गर्ने आफ्नै दर्शकलाई मुद्दा हाल्ने सोचमा पनि छन् ।उनी साइबर क्राइमको मुद्दामा नकारात्मक कमेन्ट गर्नेलाई मुद्दा हाल्ने बताउँछन् । सामाजिक सञ्जालमा आफूलाई जसरी हेयको दृष्टिले कमेन्ट गरिएका छन्, ती सबैको स्किृनशट राखेको र ती व्यक्तिलाई कानूनी दायरामा ल्याउने बिसी बताउँछन् ।‘जातका आधारमा गाली गर्नेको मैले स्किृनशट लिएर राखेको छु, भोलि साइबर क्राइममा जाँदैछु, धेरै मान्छे कारवाहीमा पर्नेवाला छन्’, उनी भन्छन्, ‘अहिले पनि यस विरुद्धमा आवाज उठाइएन भने फेरि अर्कोपटक अर्कोलाई जातकै आधारमा गाली गर्न सक्छन् ।’नेपालको कानूनमा जातीय वर्गलाई होच्याउन नपाउने भनेर लेखिएको तर सामाजिक सञ्जालमा जथाभावी कमेन्ट गरेको भन्दै केही व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने उनी बताउँछन् । ‘भनिहालें नि, अहिले पनि कदम चालिएन भने पछि पनि हेपाइ पाइन्छ ।’, बिसी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?