काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई सच्चिएर आए आममाफी दिने बताए ।
१० औँ केन्द्रीय कमिटीको बैठकलाई अन्तिम दिन सम्बोधन गर्दै अध्यक्ष ओलीले सच्चिएर आए उक्त समूहलाई आममाफी दिने बताएका हुन् । जबकी बुधवार अध्यक्ष ओली आफैंले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।
स्पष्टिकरणको निर्धारित समयमा जवाफ नआए वा चित्त बुझ्दो जवाफ नआए कारबाही गर्ने उल्लेख गरेका थिए । जुन स्पष्टीकरणमा नेपाल समूहले उल्टै अध्यक्ष ओलीलाई बिहीवार जवाफ दिँदै ‘प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा तपाईले किन राजीनामा नदिएको?’ भन्दै प्रश्न गरेका छन् ।
यस्तो अवस्थामा अध्यक्ष ओली किन उक्त समूहप्रति उदार भए त भन्ने आम चासो रहेको छ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अन्तिम समयसम्म पार्टी एकताका लागि उभिन अध्यक्षले सच्चिएर आए आममाफी दिने उल्लेख गरेको बताएका थिए ।
त्यस्तै अर्का नेता नारदमुनि राना पनि पार्टी एकताका लागि अध्यक्ष ओलीले उक्त उदारता देखाएको बताउँछन् । उनले भने–‘पार्टी अध्यक्षले अझै पनि पार्टीको आन्तरिक एकता गर्न सम्भव छ । उक्त समूह सच्चिएर आए कम्युनिष्ट आन्दोलनलाई बचाउन सकिन्छ भन्ने ठानेर नै उदारता देखाउनुभएको हो ।’
सत्ता सञ्चालन गर्दा आफ्नो अडानमा टसकोमस नभएका अध्यक्ष ओली पछिल्लो समय लचक बन्दै गएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया