प्राडा सुवेदीद्वारा पुस्तकसहित दश लाख रुपैयाँ नेपाल ल क्याम्पसलाई प्रदान

काठमाडौं-  बेलायतमा विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार विषयको प्राध्यापन गर्दै आएका प्राडा सूर्यप्रसाद सुवेदीले आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि सङ्ग्रह गरिएका अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारसम्बन्धी पुस्तकसहित दश लाख रुपैयाँ त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

बेलायतको हल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा विशिष्ट श्रेणीमा प्रथम हुनाका साथै अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधिको उपाधि हासिल गरेका सुवेदीले अध्ययन तथा प्राध्यापनका क्रममा सङ्कलन भएको आफैँद्वारा प्रकाशित पुस्तक आफैँले कानुनमा स्नातक गरेको उक्त क्याम्पसलाई दिने निधो गरेका हुन् । उनले ती सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउने पनि जानकारी दिए ।

लिड्स, लण्डन र अक्सफोर्डलगायत संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीको निजी सङ्कलनमा रहेका अन्तर्राष्ट्रियस्तरका यस्ता ग्रन्थले नेपालका वर्तमान र भावी पुस्ताका छात्रछात्रा लाभान्वित हुने भएका छन् । उनले प्रदान गर्ने दश लाख रुपैयाँ नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरी त्यसको वार्षिक ब्याजबाट प्रत्येक वर्ष उक्त क्याम्पसको पुस्तकालयमा नयाँ–नयाँ ग्रन्थ थप्दै जाने व्यवस्था पनि गरिएको छ ।

प्राज्ञिक उन्नयनमा सघाउन अमूल्य सहयोग प्रदान गरेको भन्दै क्याम्पस पधाधिकारीले प्राडा सुवेदीलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?