अमेरिकाले निष्काशन गरेका रुसी कूटनीतिज्ञले वाशिङटन छाडे

वासिंगटन, १८ चैत । बेलायतमा एकजना पूर्वरुसी जासुसमाथि स्नायु प्रणालीमा असर पार्ने विषाक्त रासायनिक पदार्थ नर्भ एजेन्ट प्रयोग गरी हमला भएको विषयलाई लिएर अमेरिकाले देश छाड्न आदेश दिएका रुसी कूटनीतिज्ञले वाशिङटन छाडेका छन् ।कूटनीतिज्ञ र उनीहरूका परिवारका सदस्यसहित करिब १ सय ७० जना दुईवटा विमानमार्फत मस्को फर्किएका हुन् ।रुसी कूटनीतिज्ञहरूले वाशिङटन छाड्दै गर्दा सेन्ट पिटर्सबर्गस्थित अमेरिकी कन्सुलेट बन्द गर्ने रुसी सरकारको निर्देशनपछि त्यहाँबाट अमेरिकी झण्डा हटाइएको छ ।अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई हटाइएलगत्तै रुसले पनि ६० जना अमेरिकी कूटनीतिज्ञलाई रुसबाट निकाल्ने घोषणा गरिसकेको छ ।शनिवार रुसी विदेश मन्त्रालयले मस्कोस्थित ब्रिटिश राजदूतलाई बोलाएर बेलायतमा आफूहरूको कूटनीतिक उपस्थिति घटाइए सरह ब्रिटिश उपस्थिति घटाउन भनेको थियो ।तर रुसी विदेश मन्त्रालयकी प्रवक्ता मरिया जखाराभाले समग्रमा ब्रिटेनले ५० जना कूटनीतिज्ञ कटौती गर्नुपर्ने बताएकी छन् । यसको अर्थ अझ कम्तीमा २७ जना बेलायती कूटनीतिज्ञहरूले रुस छाड्नुपर्ने छ ।यसअघि एक हप्ता पहिले २३ जना ब्रिटिश कूटनीतिज्ञले रुस छाडिसकेका छन् ।तर अतिरिक्त कटौती अन्तर्गत बेलायतले मस्कोस्थित स्थानीय कर्मचारीलाई हटाउने सम्भावना पनि हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?