भारतविरुद्ध श्रीलंकालाई सान्त्वना जित

काठमाडौं। श्रीलंका भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले अन्तिम एकदिवसीय खेलमा ३ विकेटले पराजय भोगेको छ।

कोलम्बोस्थित राजपक्ष प्रेमदासा स्टेडियममा शुक्रवार खेलिएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयोजक राष्ट्र श्रीलंकाले सान्त्वना जित हासिल गरेको हो। ‘डकवार्ड लुविस’ नियम लगाइएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ४७ ओभरमा सबै विकेट गुमाएर मात्र २२५ रनको योगफल तयार गर्न सफल भएको थियो।

पृथ्वी श र डेब्यू खेलाडी सञ्जु स्यामसनको शानदार ब्याटिङले एक स्थितिमा १०२ रनमा एक विकेट गुमाएको भारतमाथि श्रीलंकन बलरहरुले उत्कृष्ट पुनरागमन गरे। शले सर्वाधिक ४९ रन बनाउँदा सञ्जुले ४६ रन जोडे। श्रीलंकाका लागि अकिला धनन्जय तथा प्रविन जयविक्रमाले समान ३-३ विकेट लिन सफल भए।

जवाफी ब्याटिङमा २२६ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाका ओपनर अभिस्का फर्नान्डोले शानदार ब्याटिङ गरे। फर्नान्डोले सर्वाधिक ७६ रन बनाउँदा भानुका राजपक्षले ६५ रन जोडे। भारतका लागि डेब्यू स्पिनर राहुल चेहरले सर्वाधिक ३ विकेट लिए भने अर्का डेब्यू बलर चेतन सकारियाले २ विकेट लिन सफल भए।

आफ्नो शानदार ब्याटिङका लागि अभिस्का फर्नान्डो खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए। यस जितसँगै श्रीलङ्काले अन्तिम एकदिवसीय खेलमा सान्त्वना जित प्राप्त गरेको छ। भारतले तीन एकदिवसीय खेलको शृंखला भने २-१ ले जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?